Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

दीपक-दीपा समुहबाट बाहिरिएकै हुन् जितु ?

फिल्मीखबर, काठमाडौं, 2020/11/02
दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको समुहलाई नेपाली फिल्म क्षेत्रको शक्तिशाली टिम भन्ने गरिन्छ । ‘६ एकान ६’ देखि पछिल्लो रिलिज फिल्म ‘छ माया छपक्कै’ सम्म आइपुग्दा यो टिमले बनाएका हरेक फिल्मले बक्सअफिसमा ठूलो सफलता हात पारेका छन् । यसैले यो टिमका फिल्मसँग हलमा जुध्न र दुश्मनी होल्न हत्तपत्त कसैले हिम्मत गर्दैनन् । 
 
तर, फिल्म क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको ‘छक्का पञ्जा’ टिम फुटको संघारमा पुगेको छ । ‘६ एकान ६ र ‘वडा नम्बर ६’ पछि दीपक-दीपाको टिमबाट सिताराम कट्टेल र कुञ्जना घिमिरे अलग भए । अब जितु नेपाल पनि बाहिरिएको चर्चा चलेको छ । ‘छक्का पञ्जा’ टिमका भरपर्दा कलाकार मानिने जितुमाथि दीपकराज गिरी र दीपाश्री निरौलाले प्रतिसोध साँधेको कतिपयको टिप्पणी छ । 
 
‘छक्का पञ्जा’ टिममा विवाद उत्पन्न हुनुको प्रमुख कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्रीको बर्हिगमनलाई मानिएको छ । ‘महानायक’ विवादमा मुछिएपछि शोको निर्माण कम्पनी ‘कि इन्टरटेन्मेन्ट’ लाई प्रायोजक कम्पनीले दीपाश्रीलाई अध्यक्षबाट हटाउन दबाब दिएका थिए । उनलाई शोमा राख्न जितु नेपालले पनि अडान नराखेपछि दीपाश्रीलाई शोबाट हटाइएको बताइन्छ । 
 
 
तर, ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्रीलाई हटाउनुमा जितुको नै प्रमुख हात रहेको भन्ने बुझाइ ‘छक्का पञ्जा’ टिमको छ । यसैको प्रतिसोध साँध्न दीपक-दीपाले ‘छक्का पञ्जा’ टिमबाट जितुलाई हटाउने निर्णय गरेको स्रोत बताउँछ । यद्यपि, यो टिमबाट जितु नेपाल अलग भएको आधिकारिक जानकारी दीपक-दीपाले दिएका छैनन् । तर, टिम परिवर्तन हुनसक्ने संकेत भने दिएका छन् ।
 
स्रोतका अनुसार, ‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षबाट दीपाश्रीलाई हटाउने निर्णय भएदेखि जितु र दीपक-दीपाबीच भेटघाट र फोनवार्ता भएको छैन । यो कुरा जितु स्वयं स्वीकार गर्छन् । केही समयदेखि आफूहरुबीच कुराकानी नभएको जितुको स्वीकारोक्ति छ । दशैंअघि ‘छक्का पञ्जा ४ र छ माया छपक्कै २’ फिल्मको विषयमा भएको छलफलमा समेत जितु नेपाल अनुपस्थिति थिए । 
 
‘मुन्द्रेको कमेडी क्लब’ पूर्ननिर्माण भए झैँ ‘छक्का पञ्जा’ टिम पनि पूर्ननिर्माण हुने दीपकराज गिरीले बताएका छन् । अब बन्ने एक/दुईवटा फिल्ममा जितु नदेखिन सक्ने संकेत उनले गरेका छन् । कलाकार परिवर्तन नहुँदा फिल्मको लुक एउटै भएकाले अब बन्ने फिल्ममा कास्टिङमा हेरफेर हुनसक्ने उनको भनाई छ । तर, जितुसँग सम्बन्ध विग्रिएको कुरालाई उनी अफवाह बताउँछन् ।
 
‘छक्का पञ्जा’ टिममा शिवहरी पौडेल, निर्मल शर्मा र विल्सन विक्रम राईको प्रवेश भएको दीपकराजले जानकारी दिएका छन् । किरण केसी पनि यो टिमसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ । जितु नेपाललाई हटाएर दीपक-दीपा ‘छक्का पञ्जा’ टिमलाई थप बलियो बनाउने कसरतमा देखिएका छन् । जितु विनाको दीपक-दीपाको समुह कस्तो बन्ला ? त्यो भने हेर्न बाँकी नै छ ।
Most Visited News (monthly)