.jpg)
दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ पाइरेसीको शिकार भएको छ । डिस होममा प्रदर्शन भएर अभिनेत्री ऋचा शर्माले सञ्चालनमा ल्याएको ओटीटी प्लेटफर्म ‘चलचित्र एप’ मा रिलिज भएको यो फिल्म यहीबाट यूट्युबमा पाइरेसी भएको हुनसक्ने आशंका निर्माण टिमले गरेको छ । शनिवार कपिराइट अल सङलगायत केही यूट्युब च्यानलमा फिल्म अपलोड भएको थियो ।
निर्माता रोहित अधिकारीले फिल्म पाइरेसी गर्ने व्यक्तिको खोजी भइरहेको बताए । फिल्म अपलोड भएका यूट्युब च्यानल ब्लक गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । ऋचा शर्माले केही समय अगाडि १०-१० लाख एड्भान्स दिएर ‘छ माया छपक्कै र छक्का पञ्जा ३’ को एप राइट्स खरिद गरेकी थिइन् । ‘छ माया छपक्कै’ सँगै यूट्युबमा ‘छक्का पञ्जा ३’ पनि पाइरेसी भएको छ ।
‘छ माया छपक्कै’ को यूट्युब राइट्स केदार प्रसाद घिमिरेको आमा अग्नी कुमारीसँग छ । यूट्युबमा फिल्म पाइरेसी हुँदा आमा अग्नी कुमारीलाई ठूलो घाटा हुने देखिन्छ । ओटीटी प्लेटफर्ममा रिलिज भएको फिल्म मोबाइलमा रेकर्ड गर्न सकिने हुँदा एकपछि अर्को फिल्म पाइरेसीको मारमा परेका छन् । कमजोर कानुनका कारण पाइरेसी गर्नेहरू फस्टाउँदै गएको फिल्मकर्मीको गुनासो छ ।
नेपालका प्रतिक्षीत फिल्महरु सिनेमा हल र डिजिटल प्लेटफर्मबाट पाइरेसी हुँदै आएका छन् । गएको चार वर्ष अगाडि ‘छक्का पञ्जा’ पाइरेसी गर्ने कृष्ण सुवेदीले आत्महत्या नै गरेका थिए । अर्काको सम्पति अवैधानिक रुपमा प्रयोग गर्नु, अपलोड गर्नु, सेयर गर्नुलाई जघन्य अपराध मानिन्छ । तर, प्रहरीले पाइरेसीको घटनालाई गम्भीरतापूर्वक लिने नगरेको फिल्मकर्मीको गुनासो छ ।

