Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सफलता खोज्दै सन्ध्या

फिल्मीखबर, काठमाडौं, 2020/10/28
फिल्मी दुनियाँमा एउटा कहावत छ- ‘फिल्ममा प्रवेश गर्न जति गाह्रो छ, त्योभन्दा गाह्रो टिक्न छ ।’ प्रतिस्पर्धाको युगमा जित हासिल गर्न ठूलो मेहनत गर्नुपर्छ । सफलता र असफलता दुवैलाई आत्मसात् गरेर हिँड्ने आँट र भरोसा हुनुपर्छ । सफलतामा मात्तिने र असफलतामा आत्तिनेले फिल्म क्षेत्रमा लामो यात्रा तय गर्न सक्दैनन् । त्यसैले यो क्षेत्रमा प्रवेश गरेपछि सम्यमित हुन आवश्यक हुन्छ ।
 
भिजेको रुपमा करिअर सुरु गरेकी सन्ध्या केसीले फिल्मबाट सफलता प्राप्त गर्न नसके पनि आत्तिएकी छैनन् । एक दिन आफ्नो करिअरले गति लिनेमा उनी विश्वास छिन् । उनले अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ बाट अभिनय यात्रा आरम्भ गरेकी थिइन् । तर, भूमिका सानो भएकाले उनी दर्शकको आँखामा परिनन् । यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाह भने रातारात चम्किइन् । 
 
फिल्म 'ड्रिम्स'मा सन्ध्या
 
यो फिल्मले आफ्नो करिअरलाई उचाइ दिन नसकेकाले होला, उनी ‘ड्रिम्स’ लाई आफ्नो डेब्यू फिल्म मान्दिनन् । उनी आफ्नो डेब्यू फिल्म ‘कमलेको बिहे’ लाई भन्ने गरेकी छन् । तर, यो फिल्मको रिलिज उनका लागि ‘आकाशको फल आँखा तरी मर’ भने झैँ भएको छ । फिल्म निर्माण भएको लामो समय भए पनि प्रदर्शनमा आउन सकेको छैन । 
 
उनी अभिनीत पछिल्लो रिलिज फिल्म हो- ‘ह्याप्पी न्यू ईयर र पण्डित बाजेको लौरी’ । यो फिल्मबाट उनलाई ठूलो आश थियो । किनकि, सिंगो फिल्म नै उनले बोकेकी थिइन् । तर, फिल्मले हलमा घुँडा टेक्यो । यद्यपि, उनको अभिनय भने रुचाइयो । यो फिल्म सफल भइदिएको भए उनको करिअरलाई ठूलो राहत मिल्ने थियो । तर, यसले पनि फ्लप फिल्मको श्रृंखलामा पूर्णविराम लगाउन सकेन ।
 
‘पण्डित बाजेको लौरी’ पछि सन्ध्याले कुनै फिल्म साइन गरेको जानकारी प्राप्त छैन । उनलाई फिल्मबाट अफर हुन छाडेको चर्चा पनि चलिरहेको छ । उनलाई फिल्म अफर नै नभएको हो वा फिल्म छनोटमा गम्भीर भएकी हुन्, त्यो भने उनै जान्दछिन् । सफलताको खोजीमा रहेकी उनलाई यतिबेला सुस्ताएको करिअर उकास्न एउटा हिट फिल्मको खाँचो छ । यसका लागि स्क्रिप्ट, टिम र ब्यानर छनोटमा उनी गम्भीर हुन आवश्यक छ ।
Most Visited News (monthly)