१. यसपालीको दशैं कता मनाउँदै हुनुहुन्छ ?
ममी बुबा प्रायः भारतमा बस्नुहुन्छ । त्यसैले अघिल्ला वर्षहरुमा दशैं मनाउन म र बहिनी भारत नै जान्थ्यौं । तर, यसपाली लकडाउनका कारण ममी बुबा नेपालमै हुनुहुन्छ । त्यसैले यसपालीको दशैं जन्मघर कैलालीमा मनाउँदै छु । म गएको बुधवार कैलाली आएको हुँ ।
२. कोरोनाका कारण यसपालीको दशैं कति प्रभावित होला जस्तो लागेको छ ?
प्रभावित त हुन्छ नै । टाढा टाढाबाट आउने आफन्तहरु यसपाली दशैंको टीका थाप्न नआउने भन्नुभएको छ । म आफैं पनि काठमाडौंबाट आएका कारण कोरोनाको डरले परिवारसँग खासै नजिक परेको छैन । मैले एकपटक चाहिँ कोरोना परीक्षण गराएको थिएँ, नेगेटिभ आएको थियो । तै पनि ममी बुबालाई छुन डराएको छु ।
३. यसपालीको दशैंका लागि कति सपिङ गर्नुभयो ?
घर आउनुभन्दा अघिल्लो दिनसम्म म्यूजिक भिडियोको सुटिङमा थिए । त्यसैले यसपाली खासै धेरै सपिङ गरिनँ । आफूलाई र ममी बुबाका लागि हल्का सपिङ गरेर घर आएको हुँ ।
४. यसपटक दशैं खर्च कति छुट्याउनु भएको छ ?
यसपाली सपिङमा धेरै खर्च भएन । तर, अहिले घर बनाउने काम भइरहेका कारण ठूलै खर्च हुँदैछ ।
५. बाल्यकालमा दक्षिणाको कति लोभ हुन्थ्यो ?
सानोमा दक्षिणा पाइन्छ भन्ने लोभले नै टीका थाप्न गइन्थ्यो । मामा घरको हजुर आमा हजुरबुबाले ५ सय रुपैयाँ दिँदा भूइँमा खुट्ट हुँदैन थियो । त्यो पैसा ६ महिनासम्म पनि माँसिदैन थियो । तर, अहिले आर्शिवाद थाप्नका लागि मात्र आफूभन्दा अग्रज कहाँ जाने गरेको छु । धेरै पैसा दिँदै हुनुहुन्छ भने पनि दक्षिणाको नाममा पचास सय रुपैयाँ मात्र दिनु भन्छु ।
६. दशैंको टीका थाप्दा आमा बुबा वा आफन्तले अर्को दशैंमा जोडीसँग आउनु भनेर चाहिँ कति भन्नुहुन्छ ?
हाँस्दै त्यो त मेरै घरमा भन्नुहुन्छ । हरेक दशैंमा ममीले अर्को वर्ष बुहारीसँग टीका लगाउन पाइयोस् भन्नुहुन्छ । सँगै पढेका र हुर्केका साथीहरुको बिहे भएर सन्तान पनि भइसकेका कारण ममीले दशैंमा टीका लगाउँदा जिस्किएर विवाहको कुरा कोट्याउनु हुन्छ । अरु बेला त घरबाट विवाहका लागि दबाब छैन ।
७. यसपालीको दशैं आफ्ना शुभचिन्तकहरुलाई कसरी मनाउन सल्लाह दिनुहुन्छ ?
हामी सबै समय अनुसार चल्नुपर्छ । अहिले समय अनुकूल छैन । कोरोनाको संक्रमण बढिरहेको छ । त्यसैले जहाँ छौं, त्यहीँ सुरक्षित रुपमा दशैं मनाऔं । यसपाली मैले जति जनालाई भेटेँ, उहाँहरुबाट काठमाडौंमै दशैं मनाउने भन्ने सुनेँ । म मात्रै घर फर्किने रहेछु भन्ने लागेको थियौं । यसपालीको दशैं सावधानीपूर्वक मनाउन आग्रह गर्छु ।

