
अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माको फिल्मी करिअरले एक दशक पूरा गरिसकेको छ । यो अवधिमा दुवैले १० वटा फिल्ममा काम गरिसकेको भए पनि एकअर्कासँग भने सहकार्य जुर्न सकेको थिएन । पहिलो पटक उनीहरुले जोडी भएर फिल्म ‘जेरी अन टप’मा काम गरेका छन् । यसमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री जसिता गुरुङको पनि अभिनय छ ।

कोरोना महामारीअघि फिल्म निर्माण र रिलिज उल्लेख्य रुपमा हुन्थे । वर्षेनि रिलिजको संख्या मात्र एक सय हाराहारी पुग्थ्यो । तर, कोभिडपछि फिल्म निर्माण निकै घट्यो । जसले गर्दा दुई वर्ष त रिलिजको संख्या ५० पनि पुगेन । २०७८ मा १३ र २०७९ मा ४६ फिल्म रिलिज भएका थिए । गत वर्ष रिलिज संख्या ५३ पुगेको थियो । यस वर्ष पनि यही हाराहारीमा फिल्म रिलिज हुने देखिन्छ ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को अनपेक्षित व्यावसायिक सफलतापछि यसका मुख्य पात्र पूर्णे अर्थात् विजय बराल अहिलेका उच्च ‘डिमान्ड’ भएका अभिनेता बनेका छन् । गएको २ महिनामा मात्र उनलाई एक दर्जन फिल्मको प्रस्ताव पुगिसकेको जनाइएको छ । तर, उनले तत्काल कुनै पनि फिल्म सम्झौता गरेका छैनन् । उनले पारिश्रमिक पनि झन्डै १० गुणा वृद्धि गरेको व्यापक चर्चा छ ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ फिल्म ‘कर्मा’को छायांकन सुरु गरेका छन् । शुक्रबार दाङको घोराहीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा शुभ मुहूर्त गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको ४० दिनसम्म दाङ क्षेत्रमा छायांकन हुनेछ भने एक हप्ता रुकुममा खिचिने जनाइएको छ ।

अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्म ‘सोल्टिनी’मा कलाकारको लाइनअप बलियो बनिरहेको छ । मुख्य अभिनेतामा प्रकाश सपूत र अभिनेत्रीमा परीक्षा लिम्बूपछि अब ‘तक्मे बुढा’को रुपमा परिचित विल्सन विक्रम राई पनि फिल्ममा अनुबन्धित भएका छन् । उनको भूमिकाबारे भने कुनै जानकारी गराइएको छैन ।

यसपालिको फूलपातीमा रिलिज भएको ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले अब ‘दशमी’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । शनिबार भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । आगामी दशैंको फूलपातीलाई प्रदर्शन मिति पनि घोषणा गरिएको छ । योसँगै दशैंमा रिलिज हुने फिल्मको संख्या आधा दर्जन नाघेको छ ।

