Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शाम्बाला’को अभिनयले ‘जलाकी’मा जुरेका सोनम

फिल्मीखबर, काठमाडौं, 2026/11/15

Sonam-Topden

 

काठमाडौं । गायन हुँदै फिल्म अभिनयमा होमिएका सोनम तोप्देनले छोटो समयमै आफूलाई अब्बल अभिनेताका रूपमा स्थापित गरिसकेका छन् । ‘सम्हालिन्छ कहिले मन’बाट फिल्ममा डेब्यू गरेका उनले दोस्रो फिल्म ‘शाम्बाला’बाट अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाए । विश्वका कयैन् फेस्टिभलमा सहभागी भएको यो फिल्ममा उनको अभिनयको निकै चर्चा भएको थियो ।

अब उनी अभिनीत तेस्रो फिल्म ‘जलाकी’ मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शन हुँदैछ । यो फिल्म उनले विभिन्न उतारचढावपछि पाएका हुन् । सुरुमा उनी फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएका थिए । तर, सन् २०२५ को जुनमा अर्को फिल्म ‘ऐरी’को छायांकनका क्रममा देब्रे खुट्टा भाँचिएपछि उनको हातबाट ‘जलाकी’ फुत्कियो । त्यसपछि उनको ठाउँमा धीरज मगर भित्रिए । 

आफूले मन पराएको कथाबाट अलग हुनुपर्दा उनलाई शारीरिक कष्टभन्दा पनि ठूलो पीडा भएको थियो । तर, महिनौँको फिजियोथेरापीले स्वास्थ्यमा क्रमशः सुधार हुँदै आएपछि एकदिन अचानक सोही फिल्मका निर्देशक अशोक थापा मगरले उनलाई सहायक भूमिकामा अभिनय गर्ने प्रस्ताव राखे । उनले एकपटक पनि नसोची काम गर्ने सहमति जनाए । 

फिल्मसँग कुनै न कुनै रूपमा जोडिन पाएकोमा सोनम खुसी थिए । तर, फिल्मको मुख्य भूमिकामा धीरज अनुबन्धित भए पनि छायांकन भने सुरु हुन सकेको थिएन । जब छायांकन सुरु गर्ने तयारी भयो, तब सोनमको खुट्टा पनि निको भइसकेको थियो । त्यसैबेला धीरजले अर्को फिल्मका कारण ‘जलाकी’ छाड्नुपर्‍यो । त्यसपछि सोनम फेरि फिल्ममा मुख्य भूमिकामा फर्किए ।

यी आरोह–अवरोहलाई सोनमले आफ्नो जीवनको महत्त्वपूर्ण अनुभव र सिकाइका रूपमा लिएका छन् । उनी भन्छन्, ‘दर्शक र समीक्षकले ‘शाम्बाला’मा मेरो अभिनय मन पराएका कारण निर्देशक अशोक थापा मगरले मलाई ‘जलाकी’ अफर गर्नुभएको थियो । बीचमा दुर्घटनाले मलाई फिल्मबाट टाढा पुर्‍याए पनि सायद यो कथा र पात्र मेरै भाग्यमा लेखिएको रहेछ र म फेरि फर्किएँ ।’

सोनमका लागि ‘जलाकी’ एउटा फिल्ममा मात्र सीमित छैन । यही फिल्ममार्फत उनले नेपाली समाज र संस्कृतिसँग अझ नजिकिने मौका पाए । ललितपुरस्थित पाटन अस्पतालमा जन्मिएका तिब्बतीयन मूलका सोनमलाई अझै पनि कतिपयले बाहिरी व्यक्तिका रूपमा हेर्ने गरेका छन् । यसैले पनि उनी ‘जलाकी’लाई आफ्नो पहिचान थप बलियो बनाउने अवसरका रूपमा हेर्छन् ।

उनका अनुसार ‘जलाकी’ मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा जरा गाडेको एउटा अर्गानिक प्रेमकथा हो । मगर संस्कृतिमा माया र सम्झनाको प्रतीक मानिने ढुंगाको स्तम्भ जलाकीजस्तै फिल्मले पनि दर्शकको मनमा गहिरो सम्झना छोड्ने उनको विश्वास छ । यही फिल्ममार्फत आफूलाई पनि अझ धेरै दर्शकले चिन्नेमा उनी विश्वस्त छन् ।