Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ककाकिकी’को प्रचार फन्डा : प्रहरी नक्कली, भ्यान सक्कली

फिल्मीखबर, काठमाडौं, 2026/11/15

kakakiki

 

काठमाडौं । शनिबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा फिल्म ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो । झन्डै एक घन्टा चलेको कार्यक्रम अन्तिममा भने नाटकीय मोडमा पुग्यो । फिल्मका निर्देशक बिक्की अग्रवालले पत्रकारको प्रश्नको जवाफ दिँदै गर्दा प्रहरीको पोसाकमा केही व्यक्ति हलभित्र छिरे र कार्यक्रम रोक्न निर्देशन दिए । 

अचानक प्रहरी हलभित्र देख्दा उपस्थित पत्रकारहरू अचम्ममा परेका थिए । तर, फिल्मका कलाकार बिटी कान्छा हाँस्न थालेपछि भने यो वास्तविक नभई नाटकीय प्रस्तुति रहेको छर्लङ्ग भयो । यो प्रस्तुति हलभित्र मात्र सीमित भएको भए अहिले भइरहेको आलोचनाले यति ठूलो रूप नलिन सक्थ्यो । तर, निर्माण पक्षले कलाकारलाई भ्यानमै कोचेपछि भने परिस्थिति फरक बन्यो ।

फिल्मका कलाकारदेखि निर्देशकसम्मलाई पक्राउ गर्न हलभित्र छिरेका प्रहरी नक्कली थिए । उनीहरूको हाउभाउ र पक्राउ शैली नै अस्वाभिक थियो । पत्रकारलाई उनीहरू नक्कली प्रहरी हुन् भनेर ठम्याउन गाह्रै परेन । तर, हलको भवनबाहिर प्रहरीको भ्यान देखेपछि भने सामाजिक सञ्जालमा भिडियो र फोटो हेर्ने जोकोही झस्किए । धेरैले त यसलाई वास्तविक नै ठाने ।

फिल्मको प्रचारका लागि गरिएको पक्राउको नाटकीय प्रस्तुतिमा प्रहरी नक्कली भए पनि भ्यान भने सक्कली प्रयोग गरिएको थियो । ४६८२ नम्बरको भ्यानमा प्रहरी वृत जनसेवा काठमाडौं लेखिएको थियो । यो भ्यान महानगरीय प्रहरी वृत्त न्यूरोडको हो । फिल्मको नाटकीय प्रचारमा प्रहरीको सक्कली भ्यान नै प्रयोग गरिनुले भने ठूलो प्रश्न जन्माएको छ ।

नेपाली फिल्ममा प्रहरीको पोसाक वा अन्य सामग्री प्रयोग गर्न प्रहरी प्रधान कार्यालय नक्सालको अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ । तर, ‘ककाकिकी’को टिमले तल्लो स्तरको प्रचारका लागि प्रहरीको पोसाकदेखि सक्कली भ्यानसम्म प्रयोग गरेको छ । यसले प्रहरी प्रशासनको भूमिकामाथि त प्रश्न उठाएको छ नै, पहुँच र शक्तिको दुरुपयोग भएको हुन सक्ने आशंका समेत जन्माएको छ ।

फिल्मको कार्यक्रमबाटै कलाकार पक्राउ परेका फोटो र भिडियो सामाजिक सञ्जालमा छ्यापछ्यापी भएपछि काठमाडौं प्रहरी परिसरमा समेत हंगामा मच्चिएको थियो । यसपछि प्रहरी परिसरले घटनाबारे स्पष्ट पार्न आग्रह गरेपछि निर्देशक अग्रवालले एक पत्र लेख्दै कुनै पनि कलाकार वास्तविक रूपमा पक्राउ नपरेको र त्यो प्रचारात्मक प्रस्तुति मात्र रहेको जानकारी दिए ।

उक्त पत्रमा लेखिएको छ, ‘कलाकारलाई प्रहरीले नियन्त्रणमा लिई लगेको दृश्य फिल्मको कथामा समावेश रहेको र त्यसलाई जीवन्त रुपमा प्रस्तुत गर्ने तथा फिल्मको प्रचारप्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको हो । यसै क्रममा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रमको अवसरमा समेत सोही दृश्यलाई पुनः प्रस्तुत गरिएको थियो ।’

निर्देशक अग्रवालको स्पष्टीकरणपछि आइतबार कलाकार मनोज गजुरेलले फेसबुकमा एक पोस्ट गर्दै दर्शकसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘म व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने मान्छे हुँ । तर, हिजोको प्रस्तुतिमा म स्वयं पनि सहभागी हुन पुगेँ । यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति क्षमाप्रार्थी छु ।’