मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’को कथावाचन गम्भीर छैन, रमाइलो छ : निर्देशक सुनुवार

फिल्मीखबर, काठमाडौं, 2024/04/28

करिब ९ वर्षअघि प्रदर्शन भएको फिल्म ‘षडङ्ग’बाट सुरज सुनुवारले निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्मको व्यापारिक नतिजा अपेक्षाकृत नभएपछि निर्देशनबाट टाढा देखिएका उनले ‘खजुरे ब्रो’बाट कमब्याक गरेका हुन् । यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई उनले धरानमा एक समय निकै चर्चित मानिएका खजुरे (अनिल) पात्रबाट प्रभावित भएर बनाएका हुन् ।

फिल्म खजुरे पात्रबाट प्रभावित भए पनि उनको जीवनमा आधारित नभएको निर्देशक सुनुवारको भनाई छ । उनी भन्छन्, ‘फिल्मले उसको जीवनी देखाउन खोजेको छैन । किनभने, बायोपिक बनाउन त्यो मान्छेको उतार-चढावहरु रोचक हुनुपर्छ । खजुरे रोचक पात्र त हो तर उसको जीवनमा फिल्म चाहिने रोचक कुराहरु छैनन्, त्यही भएर उसको रोचक पाटोहरु मात्र फिल्ममा राखेको छु ।’

 

suraj sunuwar 2


उनी फिल्ममा गम्भीर कथावाचन नरहेको बताउँछन् । फिल्म रमाइलो बनेको उनको दाबी छ । उनी भन्छन्, ‘यो पूर्ण रुपमा कमेडी फिल्म हो । यद्यपि, यसमा कमेडी मात्र छैन, अरु रसहरु पनि छ । समग्रमा भन्नुपर्दा मनोरञ्जन हेतुले फिल्म बनाएका हौं । यसमा गम्भीर कथावाचन छैन, रमाइलो लाग्ने फिल्म बनेको छ ।’ उनलाई स्क्रिप्टको लगभग ८० प्रतिशत फिल्ममा आएको छ भन्ने लाग्छ ।

‘षडङ्ग’पछि निर्देशनमा फर्किन समय लाग्नुलाई उनी आफूसँग रोचक कथा नहुनु मुख्य कारण औंल्याउँछन् । ‘मैले सोचेको अनुसार ‘षडङ्ग’ले प्रतिक्रिया पाउन सकेन । दर्शकले खोजेजस्तो शैली दिन सकिएन कि भन्ने भयो । फेरि फिल्म बनाउन रोचक कथा पनि हुनुपर्‍यो, त्योबेला मसँग कथा भएन । यस्तोमा जबर्जस्ती फिल्म बनाउन भएन । त्यसैले बीचमा केही अड्किन पुगेँ,’ सुरज सुनिए ।

फिल्ममा खजुरे पात्रको भूमिकामा अभिनेता रेअर राई छन् । उनको अपोजिटमा अभिनेत्री नीति शाह छिन् । महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको फिल्ममा नविन मानन्धर र निर्देशक सुनुवारको निर्माण छ भने सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा छन् ।