मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘मनसरा’ले एक हप्तामा कमायो ३ करोड २० लाख, विशेष शोमा प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2024/05/10

mansara

 

उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ले बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको छैन । रिलिजपूर्व १० करोडको आँकडा नघाउने प्रक्षेपण गरिएको फिल्मको व्यापार कछुवाको गतिमा छ । यद्यपि, पहिलो हप्ता फिल्मले सुखद अंक जोडेको छ । एक हप्तामा फिल्मले ३ करोड २० लाख कमाएको निर्माण टिमको दाबी छ । ‘वर्ड अफ माउथ’ अब्बल प्राप्त भएकाले व्यापार बढ्ने विश्वास अझै निर्मातामा देखिएको छ ।

दोस्रो साता प्रवेशको पूर्वसन्ध्यामा बिहीबार फिल्मको विशेष शो आयोजना गरिएको थियो । राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, गायक तथा अभिनेता प्रकाश सपूत, पूर्वमिस नेपाल उषा खड्गी, अभिनेत्रीद्वय रेजिना उप्रेती र लुनिभा तुलाधरसहित नेपाल प्रहरीका उच्चपदस्थ कर्मचारी र फुटबल खेलाडी लगायतले फिल्म हेरेका थिए ।

राप्रपा अध्यक्ष लिङदेनले फिल्म हेर्नलायक बनेको प्रतिक्रिया दिँदै नेपालको जातीय र सांस्कृतिक विविधता जोड्ने कोशिस फिल्मले गरेको बताए । ‘समाजको एउटा तहको राम्रोसँग प्रतिनिधित्व गरेको छ । भविष्यमा समाजमा कुन प्रकारका जातीय, सांस्कृतिक अनि हाम्रो प्रचलनहरु थिए भन्ने कुरा फिल्मले बुझाउन मदत गरेको छ,’ उनले भने ।

गायक सपूतले भने ‘मनसरा’ हेर्दा राम्रो किताब पढेको जस्तो महसुस भएको अनुभव सुनाए । ‘फिल्म एकदमै राम्रो लाग्यो । एकदमै सरल छ । एउटा राम्रो किताब पढेको जस्तो महसुस भयो,’ उनले भने । यस्ता फिल्मले जीवनसँग नजिक जोड्नका लागि मद्दत गर्ने उनको धारणा थियो । उनी भन्छन्, ‘प्रेम, जीवन र संघर्षका आयामहरु देखाउन यस्ता फिल्मले मद्दत गर्छ ।’

 

Mansara-Show


रेजिना उप्रेती पनि फिल्मको प्रशंसा गरेर थाकिनन् । उनी प्रवीण खतिवडाको फ्यान नै भएछिन् । ‘फिल्म एकदमै राम्रो छ । समाजकै कथालाई उठाइएको छ । एउटा विषयमा साह्रै राम्रोसँग कथा भनिएको छ,’ उनले भनिन्, ‘सबैभन्दा बढी मन परेको चाहिँ प्रवीण खतिवडाको अभिनय हो । म त उहाँको फ्यान भएँ ।’ पूर्वमिस नेपाल खड्गीले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन् । उनले फिल्मलाई ‘अनपेक्षित’ भनेकी छन् ।

फिल्ममा दयाहाङ, मिरुना मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता तथा छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । काँठ क्षेत्रमा बस्ने गरिखाने वर्गको संघर्ष र फरक जातीय पृष्ठभूमिका दुई छिमेकीबीचको सम्बन्धको आयामलाई मियो बनाएर फिल्मले कथावाचन गरेको छ ।