
लामो समयदेखि फिल्म सम्बन्धि अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीद्वारा निर्मित फिल्म ‘म’ को प्रदर्शन मिति घोषणा गरिएको छ । शनिवार एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग आगामी जेठ २० गतेलाई प्रदर्शनको सम्झौता गरेका हुन् । डिसिएनले फिल्मलाई काठमाडौंभित्र तथा एफडीले उपत्यका बाहिर प्रदर्शन गर्नेछ ।
प्रकाश पुरीको कथा रहेको ‘म’ लाई सुर्वण थापाले निर्देशन गरेका हुन् । फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । कलाकारद्वय रसाईली र श्रेष्ठ कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी हुन् । उनीहरुले यही फिल्मबाट अभिनय यात्रा सुरु गरेका हुन् ।
फिल्मका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् । तेन्जीङ्ग पाल्देनको छायांकन रहेको फिल्मको सम्पादन बनिस शाहले गरेका छन् । फिल्म पढाउने एकेडेमीले पहिलो पटक निर्माण गरेको र सफल चलचित्र ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेका कारण ‘म’ मा केही नयाँ हुने अनुमान गरिएको छ । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा फिल्मले भन्नेछ ।

