.jpg)
बुधवार १७ वर्षिय नाबालिग गायिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा जर्बजस्ती करणीको आरोपमा जाहेरी दिएपछि अभिनेता पल शाह फरार भएका छन् । जिल्ला अदालत तनहुँबाट पलको नाममा पक्राउ पूर्जी जारी भइसकेको २४ घन्टा वितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेको छ ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि तनहुँ प्रहरी कार्यालयले पल शाहलाई पक्राउ गर्न काठमाडौं महानगरीय प्रहरीसँग सहयोग मागेको थियो । अहिले प्रहरीले पलसँग नजिक रहेका व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै उनको फोन ट्यापिङमा राखेको छ । प्रहरीले खोजी कार्य तीव्र बनाइरहँदा पल शाहले भने बिहीवार विहान फेसबुकमा केही अडियो रेकर्डहरु सार्वजनिक गरेका थिए ।
उनले आफ्नो दोष भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताउँदै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले समीक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले आफूमाथि षड्यन्त्र गरेको आरोप लगाएका छन् । प्रहरीलाई चुनौती दिँदै पलले फेसबुकमा स्टाटससहित ६ वटा अडियो रेकर्डहरु सार्वजनिक गरेपछि प्रहरीमा थप तनाव र दबाब बढेको छ ।
बुधबार नाबालिक गायिकाका पिताले तनहुँ प्रहरी कार्यालयमा पल शाहविरुद्ध जाहेरी दिएका थिए । ती गायिका १८ वर्ष मुनीकी भएकाले उनका बुबाले जाहेरी दिएका हुन् । विवाह गर्ने प्रलोभन देखाएर पटक पटक जर्बजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । मुलुकी अपराध संहिता अनुसार १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

