Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अलविदा जयनन्द लामा

फिल्मीखबर, काठमाण्डौ, 2022/02/24
बुधवार निधन भएका लोकगायक तथा कलाकार जयनन्द लामाको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुन र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । जयनन्द लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहीवार विहान १० बजेदेखि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा राखिएको थियो । 
 
कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा पर्यटन मन्त्री आलेले देशलाई चिनाउन जयनन्द लामाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले भने, ‘उहाँ जस्तो कलाकार अब देशले पाउन गाह्रो छ । देश चिनाउन उहाँले चाल्नुभएका कदमहरुमा हिँड्न सकिए उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । र, कलाकारको साथमा सधैं पर्यटन मन्त्रालय रहेको पनि विश्वास दिलाउन चाहन्छु ।’
 
कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पण गर्न चलचित्र तथा सांगीतिक क्षेत्रका विभिन्न हस्तीहरु नाचघर पुगेका थिए । उनको शवलाई श्रद्धाञ्जली दिन सर्वसाधारणहरुको पनि उल्लेख्य उपस्थिति थियो । बौद्ध धर्मगुरुहरु पनि नाचघरमा पुगेर लामाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका थिए । ६६ वर्षको उमेरमा निधन भएका उनको बिहीवार स्वयम्भूमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
 
Jayananda-Lala
 
भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, कौशलटारस्थित आफ्नो निवासको गेट अगाडि आफ्नै मारुती सुजुकी गाडीमा कलाकार लामा मृत भेटिएका थिए । उनी आफ्नै गाडीबाट ओर्लने क्रममा लडेर मृत्यु भएको प्रहरीले  जनाएको छ । उनको निधनले अभिनय र लोकगीत/संगीतको एउटा गर्विलो पाना च्यातिएको छ । अभिनय र गीत-संगीत सृजनामा उनको योगदान अतुलनीय रहेको छ । 
 
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका जयनन्द लामाले थुप्रै लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘माया गर्छु म, कर्मको फल, यथार्थ’ लगायतका फिल्मको निर्माण तथा निर्देशन पनि गरेका छन् । चरित्र अभिनयमा उनी निकै व्यस्त कलाकारमा पर्दथे ।
 
लामो समयदेखि लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान समेत गरेका उनले स्वर दिएको ‘कलकत्ते काइँयो केश मेरो बांगो’, टेबलमा ऐना छ’ बोलको गीत उनको नामको पर्याय नै बनेको छ । यस्तै, उनले स्वर दिएका ‘चट्ट परेको चुल्ठी’, ‘हेर्दैमा राम्रो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘केको साँचो’, ‘भोली यतिखेर’, ‘नाच्यो झिल्के नाच्यो’, ‘मूलाको चाना’, ‘सलल पानी’ लगायतका गीत चर्चित छन् ।
Most Visited News (monthly)