Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा रुचाइयो ‘म यस्तो गीत गाउँछु २’ (फोटोसहित)

फिल्मीखबर, काठमाडौं, 2022/02/24
sudarshan thapa and pooja sharma
 
कोरोना महामारीको मारमा परेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । रिलिजको पूर्वसन्ध्यामा बुधवार फिल्मको कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर राखिएको थियो । जहाँ उल्लेख्य संख्यामा फिल्मकर्मीहरु उपस्थित भएका थिए । प्रिमियरमा उपस्थित भएका कलाकारहरुलाई हलको आँगनमा कीर्तिपुरबासीले भव्य र न्यानो स्वागत गरेका थिए ।
 
फिल्म हेरेपछि अधिकांशले कथावस्तु, प्रस्तुतीकरण, कलाकारको अभिनय, छायांकन, लोकेशन, गीत-संगीतको प्रशंसामा शब्द खर्चिएका थिए । अभिनेता रमेश उप्रेतीले फिल्म बबाल बनेको बताए । उनले भने- ‘फिल्म जुन जनरामा बनेको छ त्यसमा सयमा सय न्याय गरेको छ । मलाई फिल्म मन पर्‍यो । कोरोनाले गाह्रो बनाएको फिल्म क्षेत्रलाई यो फिल्मले खुसी दिनेमा विश्वस्त छु ।’
 
deepakraj giri and deepashree niraula
 
अभिनेत्री नीशा अधिकारीले पनि फिल्म आफूलाई राम्रो लागेको बताइन् । निर्देशक सुदर्शन थापामा थप परिपक्वता देखेकोमा उनले खुसी व्यक्त गरिन् । निर्देशक दीवाकर भट्टराईले पनि सुदर्शनको निर्देशकिय कौशलको प्रशंसा गरे । फिल्म इमोसनल भएकाले दर्शकलाई एकदमै मनपर्ने उनको विश्वास छ । ‘फिल्मले बाँधेर राख्छ । मेरो भाषामा भन्ने हो भने फिल्म सुपरहिट छ,’ उनले भने ।
 
कलाकार दीपकराज गिरीले ‘म यस्तो गीत गाउँछु २’ बाट नेपाली फिल्म क्षेत्रले सास फेर्न सुरुवात गर्ने विश्वास व्यक्त गर्दै प्रेम, त्याग, समर्पणको कथा मन पर्ने दर्शकहरुलाई फिल्म सही छनोट हुनसक्ने बताए । दर्शकको रुपमा फिल्म हेर्दा आफू निराश नभएको उनको भनाई छ । अभिनेत्री निरुता सिंहले पनि आफूलाई फिल्म मन परेको र कलाकारहरुको अभिनयले मन छोएको बताइन् । 
 
barsha raut
 
निर्देशक तथा कलाकार दीपाश्री निरौला, अभिनेताहरु सरोज खनाल, आकाश श्रेष्ठ, पुष्प खड्का, आयुष्मान देशराज जोशी, संजोग कोइराला, जयकिशन बस्नेत, अभिनेत्रीहरु प्रियंका कार्की, वर्षा राउत, एलिजा गौतम, निर्देशक दीपेन्द्र के. खनाल लगायतले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । यो फिल्मले नेपाली चलचित्र क्षेत्रलाई पुर्नजीवन दिने विश्वास फिल्मकर्मीहरुले लिएका छन् ।
 
प्रिमियरमा फिल्मका नायक पल शाह भने उपस्थित भएका थिए । सोही दिन तनहुँको प्रहरी कार्यालयमा एक गायिकाले जर्बजस्ती करणीको मुद्धामा जाहेरी दिएपछि उनी भूमिगत भएका थिए । तर, उनले सुदर्शन थापालाई फोन गरेर प्रिमियर नरोक्न आग्रह गरेपछि निर्माण टिमले जे जस्तो परिस्थितिका बावजूद पनि प्रियिमर आयोजना गर्‍यो । तर, पलविनाको प्रिमियर फिक्का देखिन्थ्यो ।
 
pooja sharma
 
अतिथी फिल्मकर्मीहरुले आफ्नो भनाई राखेपछि फिल्मकी अभिनेत्री तथा निर्मात्री पूजा शर्माले आफ्नो टिममाथि बज्रपात भएको बताइन् । गहभरी हुँदै उनले भनिन्, ‘राम्रो फिल्म बनाउन हामीले मेहेनत गरेका छौं । अहिले फिल्ममाथि कसको नजर लाग्यो थाहा छैन तर दर्शकलाई साथ दिनका लागि आग्रह गर्छु । फिल्ममाथि कसैको आँखै लागेको हो भने म फिल्म इन्डस्ट्रीबाटै आउट हुन्छु ।’
 
निर्देशक तथा निर्माता सुदर्शन थापाले तीन वर्ष अगाडि मनकामना मन्दिरमा मुहूर्त गर्दा नै फिल्मको भाग्य लेखिएको बताउँदै यो फिल्मको भाग्यसँग फिल्म क्षेत्रकै भाग्य जोडिएको बताए । ‘यो एउटा व्यक्ति विशेषको फिल्म होइन । व्यक्तिबाट गल्ती भयो होला तर फिल्ममा काम गर्ने अरु मेहेनती हातको गल्ती छैन । त्यसैले इन्डस्ट्री बचाउन यो फिल्मलाई सहयोग गरिदिनुस्,’ उनले भने । 
Most Visited News (monthly)