Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गरिमा भन्छिन्, ‘फिल्ममै भविष्य बनाउँछु भन्ने सोचेको थिइनँ’

फिल्मीखबर, काठमाडौं, 2022/02/23
Garima Panta
 
अहिलेको पुस्तालाई गरिमा पन्त परिचित अनुहार नहुन सक्छ । किनकि, उनी फिल्ममा नदेखिएकै वर्षौं भइसकेको छ । तर, कुनै बेला फिल्ममा सक्रिय र अभिनयमा आफूलाई अब्बल प्रमाणित गरेकी अभिनेत्री हुन्, उनी । पर्दामा सालिन र सोझी युवतीको भूमिकामा बढी रुचाइएकी उनले ‘झोला, जीवन मृत्यु, प्रितीको फूल, सुन्दर मेरो नाम’ लगायत थुप्रै फिल्ममा अभिनय गरेकी छन् ।
 
गरिमाको करिअरको उत्कृष्ट फिल्मको रुपमा ‘झोला’ लाई लिइन्छ । यो फिल्ममा उनले गरेको अभिनय दर्शकको मन मस्तिष्कमा अझै ताजा छ । यही फिल्मबाट उनले राष्ट्रिय अवार्डदेखि सार्क अवार्ड जित्न सफल भएकी थिइन् । तर, यो फिल्मपछि उनको अभिनयमा सक्रियता कम हुँदै गयो । त्यसैक्रममा बेल्जियम बस्ने हरी थपलियासँग विवाह गरेपछि त उनी अभिनयबाटै टाढिइन् ।
 
एक छोरीकी आमा भइसकेकी गरिमा लामो समयपछि नेपाल आएकी छन् । श्रीमान र छोरीको साथमा विभिन्न ठाउँहरु घुमिरहेकी उनले एक टेलिभिजन कार्यक्रममा आफूले नेपाली फिल्मलाई एकदमै सम्झिरहने बताएकी छन् । उनले भनेकी छन्, ‘म आज जे छु फिल्मकै कारणले छु । सुटिङ सेटमा निर्देशकले एक्सन भनेपछि आफूभन्दा फरक भएर अभिनय गर्नुपर्ने क्षण म कहिल्यै विर्सन्नँ ।’
 
गरिमाले फिल्ममै भविष्य भने देखेकी रहेनछिन् । उनले अगाडि भनेकी छन्, ‘विवाहपछि फिल्मबाट टाढा जस्तो भएको छु । हुनत, फिल्ममा नै म आफ्नो भविष्य बनाउँछु भन्ने सोचेको थिइनँ । केही समय फिल्म गर्छु अनि केही न केही गर्छु भन्ने सोच पहिल्यैदेखि थियो । जसले गर्दा फिल्म छाडेर यूरोपमा बस्न मलाई केही सजिलो भयो । तर, फिल्ममा काम गर्दाको क्षण सधैं याद आउने गर्छ ।’
Most Visited News (monthly)