Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुदर्शन थापा : जसलाई गल्ती गर्ने छुट छैन

फिल्मीखबर, काठमाडौं, 2022/02/23
नेपाली दर्शकले नेपाली फिल्ममा तीनवटा विषयवस्तु अत्याधिक रुचाउने गरेको पाइन्छ, लभस्टोरी, कमेडी र एक्सन । यही कारण वर्षौंदेखि नेपाली फिल्ममा यी तीन विधाकै हालीमुहाली छ । शिव श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती, विराट भट्ट जस्ता हिरोहरु पर्दाबाट हराउँदै गर्दा एक्सन फिल्म निर्माणमा कमी आएको छ । तर, लभस्टोरी र कमेडी फिल्म निर्माणको बाढी रोकिएको छैन । 
 
लभस्टोरी, कमेडी र एक्सन विधामा जति नै संख्यामा फिल्म निर्माण भएपनि सफलता भने थोरैले पाउँछन् । विशेषगरी प्रतिष्ठित ब्यानर, विश्वास कमाएका निर्देशक, चलेका कलाकार र हिट फिल्मका सिरिजले सफलताको ग्यारेन्टी गर्ने गरेका छन् । यिनै आधारमा वर्षमा केही फिल्म मात्र दर्शकको प्रतिक्षामा रहन्छन् । ती फिल्महरुलाई दर्शक निराश बनाउने अधिकार वा छुट हुन्न ।
 
विश्व परिवेशमा हेर्ने हो भने पछिल्लो समय चलेका कलाकारभन्दा निर्देशकका कारण फिल्मको पखाई बढी हुने गरेको छ । यसको एउटा उदाहरणको रुपमा ‘बाहुबली’ निर्देशक एसएस राजामौलीलाई लिन सकिन्छ । उनले निर्देशन गर्ने फिल्ममा कलाकार को-को छन् भन्ने कुराले त्यत्ति महत्त्व राख्दैन, राख्छ त उनले फिल्म कस्तो बनाएका छन् ? यो उनीप्रति दर्शकले गरेको ठूलो विश्वास हो । 
 
Sudarshan Thapa
 
नेपालमा पनि निर्देशकप्रति भरोसा गर्ने क्रम बढ्दो छ । निश्चल बस्नेत, रामबाबु गुरुङ, प्रदीप भट्टराई, झरना थापा, दीपाश्री निरौला लगायतका केही निर्देशकहरुले बनाएको फिल्म नराम्रो हुँदैन भन्ने विश्वासकै भरमा दर्शकहरु हलमा पुग्ने गरेका छन् । सुदर्शन थापा पनि दर्शकले विश्वास गरेका निर्देशकमा पर्छन् । यसको एउटै कारण हो, लभस्टोरी फिल्ममा उनले देखाएको निर्देशकिय कौशल । 
 
पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ बाटै उनले आफूलाई निर्देशनमा प्रमाणित गरेका थिए । लभस्टोरीमा यो फिल्म ‘ट्रेन्डसेटर’ नै बन्यो । यसपछि सुदर्शनले लभस्टोरी फिल्मकै बढी निर्देशन गरे, ‘धन्दा’ बाहेक । ‘के यो माया हो, मेरो लभस्टोरी, मधुमास र चंखे शंखे पंखे’ पछि उनले अर्को उम्दा फिल्म दिए, ‘प्रेमगीत’ । यसलाई उनको करिअरकै उत्कृष्ट फिल्मको रुपमा ब्याख्या गरिन्छ ।
 
‘प्रेमगीत’ पछि पनि सुदर्शनले आफ्नो ‘कम्फर्ट जोन’ छोडेका छैनन् । फिल्म ‘म यस्तो गीत गाउँछु र रामकहानी’ मा उनले प्रेमकथा नै पस्किए र दर्शकले सराहना पनि गरे । हिट फिल्मको ग्यारेन्टी दिने निर्देशकको रुपमा आफूलाई स्थापित गरेका सुदर्शन एकपटक फेरि अग्नीपरीक्षा दिँदैछन्, फागुन १३ गते । यो मितिमा उनी निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुँदैछ ।
 
एकातिर उनीमाथि ‘म यस्तो गीत गाउँछु’ को खास जोगाउनु पर्ने दबाब छ । अर्कोतिर दर्शकले आफूमाथि गरेको विश्वासमा पनि खरो उत्रनु पर्ने चुनौती छ । दर्शकले उनीबाट ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ जस्ता यादगार फिल्मको अपेक्षा राख्ने भएकाले उनलाई अब गल्ती गर्ने र औसत हुने अनुमति छैन ? यो उनका लागि फलामको चिउरा चपाउनुभन्दा पनि कठिन हुने देखिन्छ ।
Most Visited News (monthly)