
भर्सटायल अभिनेता नवाजुद्दीन सिद्दीकी केही दिनयता मुम्बईमा खरिद गरेको आफ्नो नयाँ आलिसान घरका कारण चर्चामा छन् । यो ‘सपनाको महल’ मा उनी हालसालै सरेका हुन् । एक अन्तर्वार्तामा उनले आज आफ्नो बंगलामा भएको बाथरुम जत्रो कुनै बेला आफ्नो घर हुने गरेको स्मरण गरेका छन् । नवाजुद्दीनको नयाँ घर अंधेरी क्षेत्रमा अवस्थित छ । यो घर सिगार्न ३ वर्ष लागेको थियो ।
पिताको यादमा बंगलाको नाम ‘नवाब’ राखेका नवाजुद्दीनले भनेका छन्, ‘मैले कहिल्यै बंगलामा बस्ने सपना देखेको थिइनँ । भाईंले उक्साएपछि मेरो पनि चासो बढ्यो र आज नतिजा तपाईंहरुको अगाडि छ । आज जति ठूलो मेरो पर्सनल बाथरुम छ, त्यत्रो मेरो घर थियो । जब म मुम्बई आएँ तब चार जना मिलेर सानो कोठामा बस्ने गर्थ्यौं । २००५ बाट भने मैले सिंगल कोठा लिएको थिएँ ।’
नवाजुद्दीनको व्यस्तता यतिबेला लोभलाग्दो छ । हरेक प्रकारको चरित्रमा जीवन्त गर्ने खुबी भएका उनी कमर्शियल र आर्ट दुवै खालका फिल्ममा जमेका छन् । आफ्नै बलबुतोमा फिल्म चलाउने स्टारडम बनाउन नसकेपनि उनी फिल्ममा भएपछि लिड हिरो समेत ओझेलमा पर्ने गर्छन् । अहिले उनको पाइपलाइनमा ‘टिकू वेड्स शेरू’, ‘हिरोपन्ती २’, ‘अफवाह’ लगायतका फिल्महरु छन् ।

