कोरोना महामारीका कारण पटक-पटक सिनेमा हल बन्द हुँदा करीब दुई वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु २’ अड्कियो । २०७६ सालको फागुन ३० लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले प्रचारमा समेत ठूलो खर्च गरिसकेको थियो । तर, अन्तिम समयमा कोरोनाका कारण फिल्मको रिलिज रोकियो । दुई पटक हल बन्द भएर खुलेपछि माघ १९ गतेलाई फिल्मको नयाँ डेट तोकियो ।
तर, कोरोना संक्रमण पुनः फैलिएपछि माघ ३ गतेबाट सरकारले तेस्रो पटक हल बन्द गर्ने निर्णय गर्यो । जसले गर्दा फेरि फिल्म रिलिज हुन पाएन । अब भने यही फागुन १३ गतेबाट प्रदर्शनका लागि ‘म यस्तो गीत गाउँछु २’ कम्मर कसेर बसेको छ । हिट फिल्मको सिरिज र नाम चलेका कलाकारको अभिनय रहेकाले फिल्मले बक्सअफिसमा सुखद् नतिजा ल्याउने धेरैको अपेक्षा छ ।
.jpg)
तर, यही मितिमा प्रदर्शन हुन लागेका विदेशी फिल्मको सूची हेर्दा ‘म यस्तो गीत गाउँछु २’ माथि ठूलो चुनौती देखिन्छ । फागुन १३ गतेबाट हलिउड फिल्म ‘अनचार्टेड’, बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ र साउथको हिन्दी डब ‘भलीमई’ प्रदर्शन हुँदैछन् । ‘अनचार्टेड’ भन्दा ‘गंगुबाई काठियावाडी’ र ‘भलीमई’, ‘म यस्तो गीत गाउँछु २’ का लागि ‘थ्रेट’ बन्न सक्ने आँकलन गरिएको छ ।
आलिया भट्ट अभिनीत ‘गंगुबाई काठियावाडी’ ट्रेलरबाटै नेपालमा प्रतिक्षीत बनेको छ । यसैले मल्टीप्लेक्सहरुले यो फिल्मलाई उच्च शो दिने पक्का छ । साउथ स्टार अजित कुमार अभिनीत ‘भलीमई’ को ट्रेलरले पनि नेपाली दर्शकको ध्यान खिचेको छ । त्यसमाथि पछिल्लो समय नेपालमा साउथ फिल्मका हिन्दी डबले आक्रामक कमाई गरिरहेकाले यो फिल्मलाई हलुका रुपमा लिन मिल्दैन ।
तीन ठूला विदेशी फिल्मका कारण ‘म यस्तो गीत गाउँछु २’ ले मल्टीप्लेक्समा ठूलो शो संख्या पाउने सम्भावना न्यून छ । सिंगल थिएटर र दर्शक पनि बाँडिने निश्चित छ । यो अवस्थामा फिल्मलाई बक्सअफिसमा लामो रेसको घोडा बन्न माउथ पब्लिसिटीको ठूलो साहरा चाहिनेछ । निर्देशक सुदर्शन थापाको भनाईलाई आधार मान्ने हो भने फिल्म बलियो बनेकाले दर्शक निराश हुने छैनन् ।

