Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अडियो रेकर्डहरु सुन्दा म आफैं आश्चर्यचकित भएको छु : पल शाह

फिल्मीखबर, काठमाण्डौ, 2022/02/22
केही महिना सामसुम भएको अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीचको विवाद फेरि सतहमा आएको छ । ८ महिना अगाडि उनीहरुबीच छलफल भएको अडियो रेकर्ड र एक महिला अधिकारकर्मीसँग समीक्षाले आफूमाथि पल शाहले दुर्व्यवहार गर्नुका साथै धोका दिएको बयानसहितको अडियो रेकर्ड बाहिर आएपछि यतिबेला सामाजिक सञ्जाल यही विषयले तातेको छ । 
 
यसैक्रममा, पलले मंगलवार फेसबुकमा लामो स्टाटस लेख्दै सोमवार सार्वजनिक भएको अडियो रेकर्डहरु हेर्दा र सुन्दा आफू आश्चर्यचकित भएको बताएका छन् । अडियो रेकर्डमा बज्ने आवाज आफ्नो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवाज आफ्नै हो भन्नेमा पुर्ण शंका रहेको र प्रविधिको कुटिल प्रयोग गरी आफ्नो बदनाम गर्न खोजिएको पलले स्पष्टिकरण दिएका छन् । 
 
paul shah
 
उनले लेखेका छन्, ‘चलचित्रमा अभिनय गर्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले नीज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो ।’ आफ्ना सहकर्मीले उकासे बमोजिम नै समीक्षाले बोल्दै आएको उनले उल्लेख गरेका छन् ।
 
पल शाहले समीक्षा अधिकारीलाई आफ्ना प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु आफूसँग सुरक्षित रहेको र ती प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्ने प्रतिबद्धता पनि जनाएका छन् । आफूलाई जोडेर आएका समाचारहरु वास्तविकताभन्दा धेरै टाढा रहेकाले यसबाट भ्रमित नहुन उनले आफ्ना प्रशंसकहरुलाई अपिल गरेका छन् ।
 
पल र समीक्षाबीच आमने-सामने भएर कुराकानी गरेको अडियो रेकर्डमा समीक्षाले बिहेको अडान कसेर बसेकी छन् भने पलले विवाह गरे आफू खुसी नहुने आशय व्यक्त गरेका छन् । त्यस्तै, महिला अधिकारकर्मीसँगको बयानमा समीक्षाले आफूमाथि पलले विवाहको आश्वासन दिएर धोका दिएको बताएकी छन् । यतिबेला सामाजिक सञ्जालमा यी दुई अडियो रेकर्ड छ्यापछ्याप्ती छन् । 
 

Most Visited News (monthly)