
‘चपली हाइट’ का निर्माता अर्जुन कुमारले गत वर्ष फिल्म ‘गोरे सार्की’ को घोषणा गरेका थिए । उनी यो फिल्मबाट निर्देशनमा डेब्यू गर्ने तयारीमा थिए । तर, अब उनले निर्देशनको जिम्मेवारी निकेश खड्कालाई सुम्पिएका छन् । निकेशले यसअघि अर्जुनका ‘फाटेको जुत्ता’ र ‘चपली हाइट ३’ गरी दुई फिल्मको निर्देशन गरिसकेका छन् । अब तेस्रो पटक उनीहरुबीच सहकार्य भएको हो ।
आफूले फिल्म निर्देशन नगर्नुको कारणबारे अर्जुनले फिल्मीखबरसँग भने- ‘सुरुमा त मैले नै निर्देशन गर्ने योजना बनाएको थिएँ । तर, अहिले आएर म निर्माताकै रुपमा ठीक छु जस्तो लाग्यो । ‘गोरे सार्की’ लाई मैलेभन्दा निकेशजीले न्याय गर्न सक्नुहुन्छ भन्ने लागेपछि म निर्देशनबाट पछाडि हटेको हुँ । मेरो आफ्नो व्यस्तताले गर्दा पनि तत्काल फिल्म निर्देशनमा हात नहालुँ भन्ने लाग्यो ।’
आगामी चैत अन्तिम साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा अर्जुन छन् । अहिले स्क्रिप्टलाई अन्तिम रुप दिने कामसँगै कलाकारको छनोट कार्य भइरहेको उनले बताए । फिल्ममा चल्तीका कलाकारहरुकै अभिनय रहने उनको भनाई छ । केही कलाकार फाइनल भइसकेको र केही छनोट हुन बाँकी रहेको उनले जानकारी दिए । फिल्म थ्रिलर जनरामा बन्ने बताइएको छ ।
अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘चपली हाइट ३’ अहिले हलहरुमा प्रदर्शनरत छ । प्रदर्शन (पुष ३०) को तीन दिनमै कोरोना महामारीका कारण हलहरु बन्द (माघ ३) भएपछि फिल्मको प्रदर्शन रोकिएको थियो । जसका कारण अर्जुनको करोडौंको लगानी बालुवामा पानी भयो । फागुन १ गतेबाट हलहरु खुलेर फिल्म पुनः प्रदर्शनमा आएपनि दर्शकको गतिलो साथ मिल्न सकेको छैन ।

