
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने लभस्टोरी फिल्म ‘हनी बनी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज १४ गते (दशैं) लाई प्रदर्शन मिति तोकेको हो । निर्माणभन्दा अगावै रिलिज डेट सुरक्षित गरिएको फिल्मको चैत दोस्रो साताबाट छायांकन सुरु हुँदैछ । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गर्नेछन् ।
यतिबेला अनमोलको अपोजिटका लागि मुख्य अभिनेत्रीको छनौट कार्य भइरहेको छ । केही दिनअघि फिल्ममा अभिनेता सलोन बस्नेतको प्रवेश भएको थियो । बाँकी ‘कास्ट एन्ड क्रियू’ यही फागुनभित्र टुंगो लाग्ने निर्माता अजित कुमार थापाले जानकारी दिएका छन् । पुरुषोत्तम प्रधानले खिच्ने फिल्मको सम्पूर्ण छायांकन बेलायतमा हुनेछ । फिल्मको लागत ७ करोड अनुमान गरिएको छ ।
एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्म्स लिमिटेडको सहकार्यमा निर्माण हुने फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा छन् । फिल्ममा अनमोल लभर ब्वाइको भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले जानकारी दिएका छन् । यसअघि दीवाकरले अनमोललाई फिल्म ‘क्याप्टेन’ मा निर्देशन गरेका थिए ।
खासमा अनमोल फिल्म ‘एक्स ९’ को तयारीमा थिए । फिल्ममा एक्सन भूमिकामा प्रस्तुत हुनुपर्ने भएकाले उनले तीन महिना जिम र एक्सनको तालिममा पसिना बगाए । शरीर सुगठित बनाउन उनले माछामासु समेत खान थालेका थिए । जबकि, उनी शाकाहारी हुन् । तर, अन्तिम समयमा फिल्म छायांकनमा नजाने खबर पाएपछि उनले स्क्रिप्ट पढेको दुई दिनमै ‘हनी बनी’ साइन गरेका थिए ।

