
माधव राज खरेल निर्देशित फिल्म ‘चिट्ठी’ का लागि शिवताण्डव गीत रेकर्ड गरिएको छ । राजेन्द्र बजगाईको संगीत संयोजन तथा बसन्त अर्यालको स्वर रहेको गीतलाई सुर संगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतलाई मनोज परियारले मिक्सिङ गर्नेछन् । कथाको मागअनुसार नै फिल्ममा शिवताण्डव गीत समावेश गर्न लागिएको निर्देशक खरेलले जानकारी दिए ।
कमेडी, हरर र थ्रिलर जनरामा निर्माण भएको ‘चिट्ठी’ को ७० प्रतिशत छायांकन पूरा भइसकेको छ । केही दिनमा फिल्मको बाँकी छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । छायांकनको क्रममा अभिनेता सञ्जित भण्डारी घाईते भएपछि फिल्मको छायांकन रोकिएको थियो । अहिले उनी स्वस्थ भइसकेका छन् । फेरि फिल्मको छायांकन सुरु गर्नका लागि उनी उत्साहित देखिएका छन् ।
कमला जोशी निर्माता रहेको फिल्ममा सञ्जितका अलवा गोपाल ढकाल (छन्दे), कञ्चन चालिसे, खड्ग बहादुर पुनःमगर (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापा लगायतका कलाकारहरुको अभिनय छ । राजेश कुमारको सम्पादन र जीवन पराजुलीको छायांकन रहेको फिल्मको कथा निर्देशक खरेल आफैंले तयार पारेका हुन् ।

