निर्देशक मिलन चाम्सलाई फिल्म बनाउने मेशिन भन्ने गरिन्छ । अरु निर्देशकहरु वर्षमा एउटा फिल्म पनि मुश्किलले बनाइसक्छन् । मिलनले भने वर्षमै तीन/चारवटासम्म फिल्मको छायांकन गरेर प्रदर्शन गर्न पनि भ्याइसकेका हुन्छन् । एउटा फिल्मको छायांकन नसकिँदै उनले नयाँ फिल्मको घोषणा गरिहाल्छन् । यसैले करिअरको अवधिभन्दा उनले निर्देशन गरेका फिल्मको संख्या धेरै छ ।
अहिले उनी फिल्म ‘गोर्खा वारियर २’ को छायांकनमा व्यस्त छन् । यसलगत्तै उनले अभिनेत्री आँचल शर्मालाई लिएर यही फागुन अन्तिमबाट फिल्म ‘बर एन्ड बधु’ को छायांकन सुरु गर्दैछन् । योसँगै उनको पाइपलाइनमा एक फुटबलरको बायोपिक, साम्राज्ञी आरएल शाहसँगको फिल्म र ‘गोर्खा वारियर १’ पनि छ । यसरी हेर्दा २०७९ सालमा पनि मिलनलाई भ्याइनभ्याइ हुने देखिन्छ ।
.jpg)
मिलनले आफ्ना फिल्ममा कमै कलाकारसँग दोहोर्याएर काम गरेका छन् । विजय लामा भने उनको फिल्ममा नछुट्ने कलाकारमा पर्छन् । ‘बोबी’, ‘गोर्खा वारियर २’ हुँदै ‘बर एन्ड बधु’ मा समेत मिलनले कलाकार लामासँग सहकार्य गरेका छन् । विजय लामासँग काम गर्न सहज हुने र आफ्नै प्रोडक्सनको फिल्म जसरी सहयोग गर्ने भएकाले लगातार काम गर्दै आएको मिलनले बताएका छन् ।
उनी भन्छन्, ‘म टाइमिङ र ट्यूनिङ मिल्ने कलाकारसँग मात्र काम गर्छु । विजय दाईसँग मेरो दुवै कुरा मिल्छ । यसैले म हरेक फिल्ममा उहाँलाई छुटाउन सक्दिनँ । उहाँ काम गर्नका लागि एकदमै सजिलो हुनुहुन्छ । अरु क्याप्टेन विजय लामा भनेर डराएर पनि काम गर्न खोज्दैनन् तर मलाई उहाँ साह्रै सजिलो लाग्छ । प्रमोशनदेखि हरेक कुरामा उहाँले साथ र सहयोग पनि गर्नुहुन्छ ।’
कलाकारहरु टाइमिङमा नहिँड्दा फिल्मलाई ठूलो असर पर्ने भएकाले पनि त्यस्ता कलाकारसँग आफूलाई दोहोर्याएर काम गर्न मन नलाग्ने मिलनको भनाई छ । उनी अगाडि भन्छन्, ‘कलाकार भएपछि टाइमिङमा पक्का हुनुपर्छ । १५ मिनेट ढिलो हुँदा पनि फिल्मको प्रोडक्सनमा असर पर्छ । तर, कतिपय कलाकारले यो कुरा बुझ्दैनन् । विजय दाई यो मामलामा कम्फरटेबल हुनुहुन्छ ।’
मिलनले ‘बर एन्ड बधु’ मा अभिनेता शिव श्रेष्ठसँग पनि काम गर्न लागेको जानकारी दिएका छन् । अहिले फिल्मका लागि आँचलको अपोजिटमा नायकको खोजी भइरहेको छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा आँचल ‘बधु’ को भूमिकामा देखिनेछिन् । उनले फिल्मका लागि १० केजी तौल घटाएकी छन् । मिलनसँग उनको फिल्ममा पहिलो पटक सहकार्य भएको हो ।

