
नेपाल र अमेरिकामा छायांकन भएको फिल्म ‘लाइफ इन एलए’ ले प्रदर्शन मिति घोषणा गरेको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्म नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मले अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा भन्छ ।
सुर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । दीपक वली एसोसियट निर्देशक रहेको यस फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा संसार सुवेदी रहेका छन् भने अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिका प्रदर्शनमा फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

