Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के पल र पूजाबिना ‘म यस्तो गीत गाउँछु’ को सिरिज बन्दैन ?

फिल्मीखबर, काठमाडौं, 2022/02/17
paul shah, pooja sharma and sudarshan thapa
 
नेपालमा नयाँ नाममाभन्दा नाफाको व्यापार गरेका फिल्मको सिरिज निर्माण गर्ने क्रम व्यापक फस्टाउँँदो छ । अघिल्लो फिल्मसँग कथावस्तुको हिसाबले कुनै साइनो नभएपनि व्यवसायिक लोभले निर्माता तथा निर्देशकहरु हिट फिल्मको नाममा सिरिज बनाउन लालयित हुने गरेका छन् । निर्देशक सुदर्शन थापाले पनि आफ्नो सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ को दोस्रो सिरिज बनाएका छन्, जुन फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ ।
 
त्यसो त, सुदर्शनलाई कलाकार काखी च्याप्ने निर्देशक पनि भन्ने गरिन्छ । कुनै समय उनले आर्यन सिग्देलबिना फिल्मै बनाएनन् । केही वर्षयता उनका हरेक फिल्ममा पूजा शर्मा छुट्दिनन् । आकाश श्रेष्ठलाई लिएर पनि उनले दुई फिल्म बनाए । अर्का अभिनेता पल शाहसँग पनि उनको दुई फिल्ममा सहकार्य भइसकेको छ । पल र पूजासँग भने सुदर्शन अझ लामो सहकार्य गर्ने मनस्थितिमा देखिएका छन् । उनले अहिलेसम्मलाई ‘म यस्तो गीत गाउँछु’ को सिरिजहरुमा पल र पूजाबाहेक अरुलाई सोचेका पनि छैनन् । 
 
बुधवार ‘म यस्तो गीत गाउँछु २’ को प्रमोसनल थारु गीत सार्वजनिक कार्यक्रममा सुदर्शनले आफूहरु सक्षम रहेसम्म एकसाथ काम गर्ने बताए । उनले भने- ‘म, पल र पूजाको कारणले ‘म यस्तो गीत गाउँछु’ जन्मेको हो । ‘म यस्तो गीत गाउँछु’ १ र २ सिक्वेल थिएन, नामको मात्र थियो । ‘म यस्तो गीत गाउँछु २’ चाहिँ नाम जस्तै म्यूजिकल लभस्टोरी छ । फिल्म हेरेपछि यसको चाहिँ सिक्वेल बन्नुपर्छ भन्ने दर्शकहरुलाई पनि लाग्नसक्छ । यो फिल्म राम्रो भएको खण्डमा तेस्रो सिरिज बन्नेछ र हामी फेरि सहकार्य गर्नेछौं ।’ 
 
नयाँ फिल्ममा नयाँलाई अवसर दिने बताउँदै सुदर्शनले ‘म यस्तो गीत गाउँछु’ को सिरिजमा भने सकेसम्म पल र पूजा नै रहने बताए । उनी अगाडि भन्छन्, ‘पल र पूजा नभएको अवस्थामा ‘म यस्तो गीत गाउँछु’ को सिरिज नबन्ने भन्ने चाहिँ हुँदैन । भोलीका दिनमा के हुन्छ भन्ने थाहा हुँदैन । भोली हामी तीनमध्ये कसैले इन्डस्ट्री छाड्न पनि सक्छौं । तर, हामी समक्ष हुन्जेल भने यसको निरन्तरता हामीले नै गर्नेछौं ।’ सुदर्शन स्वयंले निर्देशन गरेको फिल्म ‘प्रेमगीत’ को गीतबाट ‘म यस्तो गीत गाउँछु’ नाम सापटी लिइएको हो ।
Most Visited News (monthly)