
बलिउडकी ‘धक धक गर्ल’ को रुपमा चिनिने माधुरी दीक्षितले ९० को दशकमा आफ्नो अभिनय र डान्सको माध्यमबाट दर्शकको मनमा राज गरेकी थिइन् । एक समय यस्तो थियो कि उनको मुस्कानमा लाखौं मानिस फिदा हुन्थे । तर, उनका लागि फिल्ममा टिक्न त्यति सहज भने थिएन । करिअरको सुरुवाती दिनमा फिल्ममेकरले उनलाई फिल्ममा काम दिन इन्कार गर्ने गरेका थिए ।
उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘जब म फिल्म इन्डस्ट्रीमा आएँ तब मैले दुई फिल्ममा काम गरेँ । तर, दुवै चलेनन् । त्यसबेला मानिसहरुले ‘यो केटी दुब्ली छे, हिरोइन बन्नका लागि सुहाउँदिन’ समेत भने । मैले त्यसबेला निकै नकारात्मक प्रतिक्रिया पाएको थिएँ । फिल्म ‘तेजाब’ हिट भएपछि भने मैले सकारात्मक प्रतिक्रिया पाउन थालेँ । मेरो अभिनय र नृत्यको प्रशंसा हुन थाल्यो ।’
दुब्लो भएकै कारण माधुरीसँग गायक सुरेश वाडकरले विवाह गर्न समेत अस्वीकार गरेको बताइन्छ । खासमा माधुरीका माता-पितालाई छोरीले फिल्ममा काम गरेको मन परेको थिएन । यसैले उनीहरु छोरीको विवाह गर्न चाहन्थे । त्यसबेलाका चर्चित गायक सुरेश वाडकरलाई माधुरीको विवाहको प्रस्ताव पठाइएको थियो । तर, माधुरी निकै दुब्लो भएकाले ती गायकले बिहे गर्न चाहेनन् ।

