.jpg)
बाल्यकालमा एक फिल्मको छायांकन सेटमा अभिनेता राजेश हमालसँग भेट गरेपछि सागर लम्सालले आफ्नो लक्ष्य नै हिरो बन्ने राखेका थिए । भारतमा चार्टर्ड एकाउन्टेन्ट पढ्दा पढ्दै परिवारलाई जन्डिसको वहाना बनाएर उनी हिरो बन्नकै लागि नेपाल फर्किए । त्यसपछि उनले फिल्मको हिरो बन्न काठमाडौंका गल्लीहरुमा जुत्ता खियाए । निर्देशकहरुसँग फिल्ममा रोल माग्दै विन्ती चढाए ।
लामो संघर्षपछि उनले एक साथी (आदित्यविक्रम लम्साल) को माध्यमबाट फिल्म ‘लोफर’ मा काम गर्ने अवसर पाए । फिल्ममा उनी ‘बले’ को भूमिकामा थिए । यो फिल्म हेर्न टेलिसिरियल ‘भद्रगोल’ टिम पनि हल पुगेको थियो । सागरको चरित्र र अभिनय मन परेपछि ‘भद्रगोल’ टिमले उनलाई ‘बले’ को चरित्रमा लिने निर्णय गर्यो । यसपछि उनले आजसम्म करिअर फर्केर हेर्नु परेको छैन ।
‘भद्रगोल’ र ‘सक्कीगोनी’ मा ‘बले’ चरित्रलाई दर्शकले सर्वाधिक रुचाएपछि यतिबेला सागर टेलिसिरियलसँगै म्यूजिक भिडियोमा पनि व्यस्त छन् । म्यूजिक भिडियो त उनले महिनामै १५/२० वटासम्म गर्ने गरेका छन् । तर, फिल्मसँग भने उनको ब्रेकअप जस्तै भएको छ । ‘लोफर’ पछि ‘लज्जा र हैरान’ मा अभिनय गरेका उनले करीब चार वर्षयता कुनै पनि फिल्ममा काम गरेका छैनन् ।
तत्काल फिल्म नगर्नुको कारणबारे आइतवार एक कार्यक्रममा सागरले भने- ‘पहिला ‘सक्कीगोनी’ टिमको फिल्म गरौं भनेर अरु फिल्ममा काम नगरेकै हो । आफ्नै टिमको फिल्म पर्खिँदा-पर्खिँदा लकडाउन भयो । अब भने चाँडै हामी फ्लोरमा जाने तयारीमा छौं ।’ ‘सक्कीगोनी’ टिमले लामो समयदेखि फिल्म निर्माणको गृहकार्य गरेको भएपनि विभिन्न कारणले मूर्तरुप पाउन सकेको छैन ।

