फिल्म ‘रामकहानी’ मा काम गरेपछि अभिनेता आकाश श्रेष्ठको करिअर चम्कियो । भलै, यसपछि उनले अभिनय गरेका फिल्म चलेनन् तर म्यूजिक भिडियोमा उनी सर्वाधिक खोजिने मोडल बने । अभिनेत्री पूजा शर्मासँग नाम जोडिएपछि उनलाई न फिल्मको कमी भयो न म्यूजिक भिडियोको । कोरोना महामारीपछि फिल्ममा रोकिएको उनक व्यस्तता म्यूजिक भिडियोमा भने कायमै छ ।
उनी दिनहुँ म्यूजिक भिडियोको छायांकनमा व्यस्त हुन्छन् । लगभग दिनहुँ जसो नै उनी अभिनीत गीतहरु रिलिज पनि हुने गरेका छन् । तर, उनले बग्रेल्ती म्यूजिक भिडियो गर्दा क्रेज कमजोर बनेको टिप्पणी हुने गरेको छ । उनी म्यूजिक भिडियोभन्दा फिल्ममै बढी केन्द्रित हुनुपर्ने कतिपयको भनाई छ । तर, आकाश आफूले फिल्म र म्यूजिक भिडियोलाई छुट्याएर हेर्ने नगरेको बताउँछन् ।
.jpg)
शुक्रवार ‘तिम्ले बोल्ने बोली’ गीतको सार्वजनिक कार्यक्रममा आकाशले भने- ‘कलाकारको काम अभिनय गर्ने हो । मेरो लागि कुनै पनि काम सानो र ठूलो हुँदैन । त्यसैले म फिल्म र म्यूजिक भिडियोलाई कहिल्यै छुट्याएर हेर्न सक्दिनँ । मैले कति अभिनय गर्न सकें त्यो महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ ।’ उनले सञ्चारकर्मीलाई पनि फिल्म र म्यूजिक भिडियोलाई छुट्याएर नहेर्न अग्रह गरे ।
तपाईं आफूलाई नायक कि मोडल बन्न रुचाउनुहुन्छ ? भन्ने फिल्मीखबरको प्रश्नमा आकाशले अगाडि भने- ‘मलाई तपाईंहरुले जे रुपले बोलाउँदा पनि खुसी हुन्छु । मलाई कामसँग मतलब हो, नामसँग होइन । मलाई तपाईंहरुले नायकभन्दा पनि ठीक छ, मोडलभन्दा पनि खुसी हुन्छु ।’ ‘तिम्ले बोल्ने बोली’ गीतको भिडियोमा आकाशको अभिनेत्री खुश्बु खड्कासँग जोडी बाँधिएको छ ।
गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । उनले ‘अर्धकट्टी र सुश्री सम्पत्ति’ नामका दुईवटा फिल्मको समेत निर्देशन गरिसकेका छन् । दीपक शर्माको संगीत रहेको गीतको शब्द रचना नेत्र कोइराला ‘आकाश’ ले लेखेका हुन् । रामकृष्ण ढकाल र खुशी गुरुङको प्रस्तुतीमा बनेको यो गीतले आकाश र खुश्बुको प्रेमभाव बोल्छ ।

