
अभिनेता द्वय अनमोल केसी र सलोन बस्नेतले पहिलो पटक फिल्म ‘होस्टेल’ मा एकसाथ काम गरेका थिए । यसपछि पर्दामा उनीहरुको जोडी टुटेको छैन । ‘गाजलु, क्याप्टेन, ए मेरो हजुर ३ र ए मेरो हजुर ४’ मा एकसाथ काम गरेका उनीहरुको केमेस्ट्रीलाई दर्शकहरुले निकै रुचाउने गरेका छन् । यही कारण निर्माता-निर्देशकहरुले पनि यी दुईलाई फिल्ममा दोहोर्याउँदै आएका छन् ।
एकपटक फेरि अनमोल र सलोनलाई दर्शकहरुले पर्दामा हेर्न पाउने भएका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘हनी बनी’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । शनिवार सलोनसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । नयाँ टिम र अनमोलसँग फेरि एकसाथ फिल्ममा काम गर्नका लागि आफू उत्साहित रहेको सलोनले बताएका छन् ।
यतिबेला निर्माण टिमले फिल्मका लागि मुख्य अभिनेत्रीको खोजी गरिरहेको छ । आउँदो मार्च (चैत) बाट छायांकनमा जाने तयारीमा रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने फिल्ममा अनमोल लभर ब्वाईको भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले जानकारी दिएका छन् । अनमोलले स्क्रिप्ट पढेको दुई दिनमा फिल्म साइन गरेका हुन् ।
एबी इन्टरनेशलको प्रस्तुती रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लि.ले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् । फिल्मको लागत ७ करोड अनुमान गरिएको छ । एबी इन्टरनेशलले निर्माण गरेको नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ कोरोनाका कारण प्रदर्शन हुन सकेको छैन ।

