Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

अनमोल भन्छन्, ‘दर्शकले मनबाट ‘मेगास्टार’ भनिदिए पुग्छ’

फिल्मीखबर, काठमाडौं, 2022/02/12
नेपालमा कलाकारलाई उपाधि दिने होडबाजी नै चलेको छ । जसले जसलाई जुन उपाधि दिए पनि हुन्छ । न उपाधि लिनेलाई उपाधि पाउनुको कारण थाहा हुन्छ न दिनेले दिनुको कारण बुझेका हुन्छन् । मिडियामा चर्चाका लागि योगदानभन्दा ठूला उपाधि दिइन्छ । अनि, यही विषयमा फिल्म क्षेत्र दुई कित्तामा बाँडिन्छ । नजिककाले समर्थन गर्छन् अनि टाढाकाले विरोध जनाउँछन् ।
 
अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’ को उपाधिलाई लिएर प्रायः फिल्म क्षेत्रमा विवाद जन्मिने गरेको छ । कोही उनलाई यो उपाधिको हकदारै मान्दैनन् बरु भुवन केसीलाई ‘महानायक’ भन्छन् । तर, दर्शकको ठूलो जमातले राजेश हमाललाई नै ‘महानायक’ मान्ने गरेको छ । केही वर्षयता अभिनेता अनमोल केसीले पनि एउटा विवादित उपाधिको पगरी भिरेर बसेका छन् ।
 
anmol kc
 
एक फिल्मको कार्यक्रममा उद्घोषक नरेश भट्टराईले अनमोल केसीलाई ‘मेगास्टार’ भनिदिए । यसपछि उनलाई फ्यानहरुले यही उपाधिले सम्बोधन गर्न थाले । तर, दर्शक र फिल्मकर्मीको ठूलो जमातले अहिले नै अनमोल यो उपाधिको हकदार नभएको भन्दै टिप्पणी गरे । यस्तैमा निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ३’ को टिजरमा अनमोललाई ‘मेगास्टार’ को उपाधि नै दिइन् ।
 
तर, दुई साता अगाडि सार्वजनिक भएको फिल्म ‘ए मेरो हजुर ४’ को टिजरमा भने अनमोललाई झरनाले ‘मेगास्टार’ को उपाधि दिएकी छैनन् । शुक्रवार फिल्मको गीत सार्वजनिक कार्यक्रममा यसबारेमा निर्देशक थापाले भनिन्, ‘एकपटक हामीले सम्मान गरेर अनमोललाई ‘मेगास्टार’ भनिसकेपछि ऊ त मेगास्टार रही नै रह्यो नी । हिजो पनि थियो, आज पनि छ र भोली पनि रही रहन्छ ।’
 
‘ए मेरो हजुर ४’ को टिजरमा आफूलाई ‘मेगास्टार’ नभनेकोमा अनमोललाई भने निर्माण टिमप्रति कुनै चित्त दुखाइ रहेनछ । उनी दर्शकले आफूलाई मनबाट ‘मेगास्टार’ भनिदिए पुग्ने बताउँछन् । उनले गीत सार्वजनिक कार्यक्रममा भने- ‘मलाई उपाधिको लोभ छैन । मलाई ‘मेगास्टार’ भन्नैपर्छ वा फिल्ममा त्यो उपाधि दिनैपर्छ भन्ने कहिल्यै लाग्दैन । मलाई मेरै नामले चिनिएकोमा खुसी छु ।’
Most Visited News (monthly)