Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लप्पन छप्पन २’ ले फागुन १३ को डेट नछाड्ने

फिल्मीखबर, काठमाण्डौ, 2022/02/11
कोरोना महामारीका कारण दुई वर्ष हलहरु बन्द भएपछि वितरक र हलवालाहरुको संस्था नेपाल चलचित्र संघले नेपाली फिल्मको रिलिजलाई व्यवस्थित गर्न बैशाख १ गतेसम्म लागू हुने गरी एकै मितिमा दुई नेपाली फिल्म रिलिज नगर्ने निर्णय गरेको थियो । सबैभन्दा पहिला संघमा निवेदन दिएर प्रदर्शन मिति दर्ता गराउने फिल्मलाई मात्र प्रदर्शनको अनुमति दिइने संघको निर्णय थियो ।
 
तर, चलचित्र संघले आफ्नै निर्णय उल्लंघन गर्दै पुष १९ गते संघमा निवेदन दिएर सबैभन्दा पहिला फागुन १३ गतेका लागि प्रदर्शन मिति दर्ता गराएको फिल्म ‘लप्पन छप्पन २’ लाई पाखा लगाउँदै अर्को फिल्म ‘म यस्तो गीत गाउँछु २’ लाई सो मितिमा प्रदर्शनको अनुमति दिएको छ । अब यो मितिमा ‘म यस्तो गीत गाउँछु २’ लाई मात्र प्रदर्शन गर्ने निर्णय चलचित्र संघले गरेको बताइएको छ ।
 
lappan chhapan 2
 
संघको यो निर्णयप्रति ‘लप्पन छप्पन २’ टिमले भने आपत्ति जनाएको छ । फिल्मका निर्माता निर्मल कुमार मिश्रले चलचित्र संघले आफूहरुसँग छलफल र सल्लाह नगरी फागुन १३ मा अर्को फिल्मलाई प्रदर्शनको अनुमति दिनु न्यायोचित नभएको बताए । संघमा सबैभन्दा पहिला आफूहरुले प्रदर्शन मिति दर्ता गरेकाले यो मितिमा ‘लप्पन छप्पन २’ लाई प्रदर्शन गर्न दिनुपर्ने उनको माग छ ।
 
उनले भने- ‘हामी फागुन १३ को मिति छाड्दैनौं । न्यायोचित तरिकाले संघले हामीलाई न्याय दिनुपर्छ । संघले दुवै पक्षलाई बसाएर प्रदर्शन मितिको बारेमा छलफल गर्नुपर्थ्यो । तर, संघले हामीसँग छलफलै गरेन । सबैभन्दा पहिला हामीले फिल्मको प्रदर्शन मिति दर्ता गरिसकेको अवस्थामा त्यही मितिमा संघले अर्को फिल्मलाई प्रदर्शनको अनुमति कसरी दिन सक्छ ? यो त अन्याय भएन र ?’
 
नेपाल चलचित्र संघमा सबैभन्दा अगाडि प्रदर्शन मिति दर्ता भएको फिल्मलाई प्रदर्शनको अनुमति दिनु पर्ने निर्माता मिश्र बताउँछन् । सबैभन्दा पहिला दर्ता भएको फिल्मलाई हटाएर अर्को फिल्मलाई विना सल्लाह प्रदर्शन अनुमति दिने चलचित्र संघको निर्णय आपत्तिजनक रहेको बताउँदै उनले यो निर्णय आफूहरुलाई मान्ने नभएको बताए । उनी संघले यो विवाद मिलाउनेमा विश्वस्त छन् ।
 
मुकुन्द भट्ट निर्देशित फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय छ । कोरोना महामारीका कारण दुई वर्षदेखि अड्किएर बसेको ‘लप्पन छप्पन २’ ठूलो बजेटमा बनेको हो । फिल्मको गत वर्ष ट्रेलरदेखि गीतसम्म सार्वजनिक भएको थियो ।
Most Visited News (monthly)