कोरोना संक्रमणका कारण माघ ३ गतेबाट बन्द भएका हलहरु फागुन १ गतेबाट सञ्चालनमा आउने भएपछि फिल्म ‘कठपुतली’ पुनः प्रदर्शन हुने भएको छ । तेस्रो हप्तामा प्रदर्शन भइरहेको समयमा सरकारले अनिश्चितकालका लागि हल बन्द गरेपछि फिल्मको प्रदर्शन रोकिएको थियो । गत पुष १६ गतेबाट प्रदर्शनमा आएको फिल्मले दुई हप्ता बक्सअफिसमा सुखद व्यापार गरेको थियो ।
अधिकांश हलहरुमा सफल प्रदर्शन भइरहेको समयमा रिलिज रोकिएको कारण फिल्मलाई पुनः प्रदर्शन गर्न लागिएको वितरक कम्पनी डिसिएनका प्रबन्ध निर्देशक अशोक शर्माले जानकारी दिए । फेरि पनि मल्टीप्लेक्सहरुमा फिल्मले राम्रो शो पाउने उनको विश्वास छ । ‘माउथ पब्लिसिटी’ बलियो रहेकाले अझै फिल्म हेर्नका लागि हलसम्म दर्शक आउने अपेक्षा निर्माण पक्षले गरेको छ ।

यस्तैमा, निर्माण टिमले दर्शकलाई ‘आइफोन १२’ उपहार दिने निर्णयलाई पुनः अगाडि बढाएको छ । यो योजनालाई थप आकर्षक बनाउन ‘आईप्याड’ पनि प्रदान गरिने भएको छ । फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेमध्ये गोला प्रथाबाट एक-एक जनालाई विश्व प्रख्यात एप्पल कम्पनीको आइफोन १२ र आईप्याड प्रदान गरिने बताइएको छ ।
एक टिकट एक जनाको लागि मात्र मान्य हुनेछ र टिकट नम्बरको आधारमा मान्यता जाँच हुनेछ । देशभरका जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी खिचेर सबैले देख्ने गरीकुनै पनि सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा ‘क्याप्सन’ मा #KATHAPUTALI #WINIPHONE लेख्नुपर्ने हुन्छ । प्रत्यक्ष रुपमा ‘लक्की ड्र’ गरी विजेता घोषणा गरिने बताइएको छ ।
पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ का निर्देशक भिमसेन लामा हुन् । फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । जोएल फ्रूमले खिचेका फिल्मका निर्माता पृथ्वी राना मगर हुन भने सह-निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

