
पिरियड ड्रामा बनाउन सिपालु मानिने सञ्जय लीला भंसाली निर्देशित नयाँ फिल्म ‘गंगूबाई काठियावाडी’ फेब्रअरी २५ (फागुन १३) बाट प्रदर्शनमा आउने तयारीमा छ । केही दिनअघि सार्वजनिक भएको ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता र कौतुहलता बढाएको छ भने अभिनेत्री आलिया भट्ट, अभिनेता अजय देवगन र कलाकार विजय राजको अभिनयको प्रशंसा भइरहेको छ ।
आलिया फिल्मको केन्द्रमा छिन् । ‘गंगूबाई’ को भूमिकामा रहेकी उनले यो फिल्मका लागि मोटो पारिश्रमिक बुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्ममा उनले भारु २० करोड पारिश्रमिक पाएकी छन् । बलिउडमा यति मोटो पारिश्रमिक लिने थोरै मात्र अभिनेत्री छन् । एकपछि अर्को फिल्मबाट सफलताको सिढी चढिरहेकी उनलाई यो फिल्मले नयाँ परिचय दिने देखिन्छ ।
त्यस्तै, फिल्ममा महत्त्वपूर्ण भूमिकामा रहेका अजय देवगनले ११ करोड पारिश्रमिक बुझेको बताइएको छ । ट्रेलरमा उनको एग्रेसिभ लुक्सलाई दर्शकले रुचाएका छन् । ट्रेलर सार्वजनिक भएपछि चर्चामा रहेका विजय राज फिल्ममा रजिया बाईको भूमिकामा छन् । उनले फिल्ममा डेढ करोड पारिश्रमिक पाएका छन् । फिल्ममा उनको भूमिका शक्तिशाली रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।
यही फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका शान्तनु माहेश्वरीले भने ५० लाख रुपैयाँ पारिश्रमिक पाएको बताइएको छ । कलाकार सीमा पाहवाको पनि फिल्ममा विशेष भूमिका रहेको छ । उनले फिल्ममा २० लाख पारिश्रमिक पाएकी छन् । सन् १९६० को दशकतिर मुम्बईको कमाठीपुरामा एउटा वेश्यालय चलाउने लेडी डन ‘गंगूबाई’ को जीवनीमा आधारित भएर फिल्म बनेको हो ।

