
कोरोना महामारीले यदी कुनै फिल्म सबैभन्दा बढी मारमा परेको छ भने त्यो ‘चपली हाइट ३’ हो । कहिले कोरोना कहर त कहिले विदेशी फिल्मका कारण पटक-पटक प्रदर्शन मिति सरेर पुष ३० गतेबाट फिल्म हलमा लागेको थियो । तर, कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट हल बन्द गरेपछि फिल्म तीन दिन मात्र प्रदर्शन हुन पायो । जसले निमातालाई ठूलो मार पर्यो ।
प्रदर्शनको तीन दिनमा फिल्मले दर्शकको अपेक्षाकृत साथ पाउन सकेको थिएन । तर, समीक्षकले फिल्म रुचाएका कारण माउथ पब्लिसिटीले हलमा दर्शकको चाप बढ्ने आश निर्माण टिमलाई थियो । तर, प्रदर्शनको तीन दिनमै हलहरु बन्द भएपछि निर्माताको करोडौं रुपैयाँ बालुवामा पानी सरह भयो । यद्यपि, हल खुलेपछि फेरि फिल्म प्रदर्शन गर्ने अडानमा निर्माता अर्जुन कुमार थिए ।
सीसीएमसीसीको सिफारिसमा फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘चपली हाइट ३’ लाई फेरि प्रदर्शन गरिने भएको छ । अर्जुन कुमारले विज्ञप्ति जारी गर्दै फिल्म पुनः प्रदर्शनमा आउने जानकारी दिँदै आफूले दोस्रो मौका पाएको बताएका छन् । उनी दोस्रो मौकामा फिल्मलाई दर्शकले साथ दिनेमा विश्वस्त छन् । फिल्मले भ्यालेनटाइन डेको फाइदा उठाउन सक्ने विश्वास लिइएको छ ।
.jpg)
निकेश खड्का निर्देशित क्राइम थ्रिलर फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतको अभिनय छ । फिल्ममा आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत र पुरुषोत्तम प्रधानको छायांकन छ ।

