(2)(1)(2)(1).jpg)
दर्शकमाझ प्रतिक्षीत बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलवार नेपाल चलचित्र संघमा बसेको चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा र चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले फिल्मलाई फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । फिल्मले प्रदर्शन मिति तोकेको यो चौथो पटक हो ।
२०७६ सालको फागुन २३ गते फिल्मले पहिलो पटक प्रदर्शन मिति घोषणा गरेको थियो । यही मितिमा बलिउड फिल्म ‘बागी ३’ आउने भएपछि फिल्मले फागुन ३० गतेलाई प्रदर्शन मिति तय गर्यो । तर, प्रदर्शनको संघारमा कोरोना संक्रमण फैलिएपछि अनिश्चितकालका लागि रोकिएको फिल्मको रिलिज दोस्रो चरणको बन्दाबन्दी अन्त्यपछि माघ १९ गतेलाई घोषणा गरिएको थियो ।
तर, पुनः कोरोना संक्रमण फैलिएको भन्दै सरकारले माघ ३ गतेबाट हल बन्द गर्ने निर्णय गरेपछि फिल्म फेरि रिलिज हुन पाएन । फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते प्रदर्शन गर्न निर्माता र वितरकले ठूलै कसरत गरेका थिए । अन्ततः निर्माण टिम सफल भएको छ । यो मितिमा फिल्म ‘लप्पन छप्पन २’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।
सुदर्शन थापा निर्देशित तथा निर्मित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर फिल्मको कथा लेखेका हुन् । यो फिल्मको अघिल्लो सिरिज बक्सअफिसमा असफल भएको थियो । दोस्रो सिरिजले पनि सफलता हासिल गर्ने धेरैको विश्वास छ ।

