.jpg)
मन्त्रिपरिषद् बैठकले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि यही मितिमा प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो मान्छे’ पोस्टपोन्ड हुने भएको छ । निर्वाचनको दिन सार्वजनिक विदा हुने र यातायात आवातजावत पनि ठप्प हुने भएकाले फिल्मको रिलिज सार्ने निर्णयमा निर्माता पुगेका हुन् । चाँडै फिल्मको नयाँ प्रदर्शन मिति तोक्ने तयारीमा निर्माण टिम छ ।
निर्देशक दीपेन्द्र के. खनालले भने- ‘अब फिल्मको रिलिज नसारेर पनि के गर्नु ? विकल्प नै छैन । अब बैशाख ३० भन्दा अगाडि फिल्म रिलिज गर्न सकिन्छ कि पछाडि भनेर अहिले हामी छलफलमा छौं । कुनै फिल्म नआए म त फागुन १३ गते पनि फिल्म लगाउन तयार छु । किनकि, फिल्मदेखि टिजरसम्म सबै तयार छ । यसै साता फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्न सक्छौं ।’
‘चिसो मान्छे’ लाई यस वर्षको भदौ ११ गते रिलिज गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गरेपछि फिल्म रिलिज हुन पाएन र बैशाख ३० गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरियो । तर, यसपटक स्थानीय तहको चुनावका कारण फिल्मको रिलिज विथोलिएको छ । अब जेठको पहिलो हप्ता फिल्म रिलिज हुने सम्भावना बलियो छ ।
‘आमा’ निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का र अर्पण थापा पनि मुख्य भूमिकामा छन् । यस्तै, फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनालको हो । उनी यो फिल्म आफूले सोचेको जस्तै बनेको दाबी गर्छन् ।

