कोरोना महामारी नफैलिएको भए निर्देशक सुदर्शन थापाले फिल्म ‘म यस्तो गीत गाउँछु’ को तेस्रो सिरिज पनि निर्माण गरेर प्रदर्शन गरिसकेका हुने थिए । तर, संक्रमण फैलिने बहानामा पटक-पटक सरकारले हल बन्द गर्दा फिल्मको दोस्रो सिरिज निर्माणको तीन वर्ष भइसक्दा पनि रिलिज हुन पाएको छैन । जसका कारण फिल्ममाथि भएको निर्माताको ३ करोडको लगानी फ्रिज भएको छ ।
२०७६ सालको फागुन २३ गतेलाई फिल्मको पहिलो पटक प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, यही मितिमा बलिउड फिल्म ‘बागी ३’ आउने भएपछि ‘म यस्तो गीत गाउँछु २’ एक हप्तापछि सर्दै फागुन ३० मा पुग्यो । निर्माताले प्रचार-प्रसारमा ठूलो खर्च गरिसकेका थिए । तर, रिलिजको मुखमा संक्रमण फैलिएपछि निर्माताले फिल्म रिलिज गर्ने आँट गरेनन् र रिलिज पोस्टपोन्ड गरे ।
पहिलो र दोस्रो चरणको बन्दाबन्दीपछि यसपालीको दशैंबाट हलहरु सञ्चालनमा आए । तर, दर्शक नआउने डरले दशैं र तिहार जस्तो पर्वमा ठूला नेपाली फिल्म रिलिज भएनन् । तिहारमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि भने निर्देशक थापाले माघ १९ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरे । तर, यसपटक पनि फिल्मलाई कोरोना भिलेन बन्यो ।
.jpg)
फिल्म रिलिजको १५ दिन पनि बाँकी नहुँदा कोरोना संक्रमण बढेको भन्दै सरकारले हलहरु बन्द गर्ने निर्णय गर्यो । सीसीएसीसीले सरकारलाई फागुन १ गतेलाई हलहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सञ्चालनको अनुमति दिन सिफारिस गरेको छ । यसै हप्ता मन्त्रिपरिषद्को बैठकले सीसीएमसीसीको सिफारिसको आधारमा सिनेमा हल खोल्न अनुमति दिने सम्भावना प्रवल छ ।
फागुन १ गतेबाट हल खुल्ने सम्भावना बढेपछि फागुन महिनामै ‘म यस्तो गीत गाउँछु २’ लाई रिलिज गर्न निर्मातादेखि वितरकसम्म दौडधुप गरिरहेका छन् । वितरक करण श्रेष्ठले फिल्मलाई फागुन १३ गते प्रदर्शन गर्नका लागि प्रयास भइरहेको बताए । अहिले फिल्मको टिम यही मितिमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ का निर्मातालाई मनाउनका लागि छलफल गरिरहेको छ ।
फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते रिलिज गर्न निर्माताले प्रयास गरेका हुन् । तर, आउँदो बैशाख १ गतेसम्म एकै मितिमा दुई नेपाली फिल्म भिड्न नपाउने नेपाल चलचित्र संघको निर्णयका कारण ‘लप्पन छप्पन २’ ले छाडे मात्र ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा प्रदर्शनमा आउन सक्नेछ ।
वितरक श्रेष्ठ भन्छन्, ‘हाम्रो कारणले फिल्मको पटक-पटक प्रदर्शन सरेको होइन । हल बन्द नभएको भए माघ १९ मै फिल्म लाग्थ्यो । त्यसैले अब हल खुलेपछि ‘म यस्तो गीत गाउँछु २’ बाट फिल्म रिलिजको सुरुवात गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । मंगलवार ‘लप्पन छप्पन २’ को टिमसँग नेपाल चलचित्र संघमा छलफल छ । सहमति जुट्यो भने फागुन १३ गते फिल्म लगाउन हामी तयार छौं ।’
सफल फिल्मको सिरिज भएकाले ‘म यस्तो गीत गाउँछु २’ ले कोरोनाअघिकै पुरानो माहोल फर्काउन सफल हुने धेरैको आशा र अपेक्षा छ । सुदर्शन थापा निर्देशित तथा निर्मित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर फिल्मको कथा लेखेका हुन् ।

