.jpg)
कोरोना महामारीका कारण करीब दुई वर्षदेखि फिल्म सम्बन्धि गतिविधि सहज रुपमा हुन सकेको छैन । तर, म्यूजिक भिडियो निर्माणमा भने बाढी नै आएको छ । जसले गर्दा फिल्ममा आश्रित धेरै कलाकारलाई म्यूजिक भिडियोले हातमुख जोर्न सजिलो बनाएको छ । महामारीको समयमा म्यूजिक भिडियोमा काम गरेर केही कलाकारले काठमाडौंमा घरजग्गा समेत जोड्न भ्याए ।
अभिनेता पल शाहपछि म्यूजिक भिडियोमा सर्वाधिक देखिने अभिनेता हुन्, आकाश श्रेष्ठ । पहिलो चरणको लकडाउनपछि फिल्म ‘हिँड्दा हिँड्दै’ मा काम गरेका उनी त्यसपछि म्यूजिक भिडियोमै रमाइरहेका छन् । फिल्म ‘रामकहानी’ बाट शहरीया युवापुस्तामा लोभलाग्दो क्रेज बनाएका उनको लोकप्रियतालाई ‘क्यास’ गर्नका लागि म्यूजिक भिडियो निर्माण गर्न चाहनेहरुको संख्या ठूलो छ ।
महिनामा दुई दर्जनको आसपासमा म्यूजिक भिडियोमा अभिनय गर्दै आएका आकाशको दिनहुँ यूट्युबमा गीतहरु सार्वजनिक हुने गरेका छन् । यसैक्रममा, उनले अभिनय गरेको ‘किन यसरी’ बोलको भिडियो सार्वजनिक भएको छ । नेप्सिनेको प्रस्तुतीमा डम्बर खनाल ‘आर्यन’ को शब्द, संगीत र स्वर रहेको गीतको म्यूजिक भिडियोमा आकाशसँगै अञ्जली अधिकारीको अभिनय रहेको छ ।
विधान कार्कीको निर्देशन रहेको गीतमा लामो समयपछि भेट भएकी प्रेमिकाप्रति पोखिएका गुनासाहरुलाई समेटिएको छ । गायक खनालले यो गीतको दोश्रो भाग पनि छिट्टै आउने जानकारी दिएका छन् । भिडियोको अन्त्यमा पनि यसबारेमा जानकारी दिइएको छ । मनिषा पोखरेलले कला निर्देशन गरेको भिडियोका छायाँकार हरी हुमागाईँ हुन् भने विकास दाहालले सम्पादन गरेका छन् ।

