
तुलसी घिमिरेले निर्देशन गरेका फिल्म हेरेरै एउटा पुस्ताको शैशवकाल वित्यो । ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘चिनो’, ‘देउता’, ‘दर्पण छायाँ’ जस्ता कालजयी फिल्म दिएर उनले नेपाली दर्शकलाई ठूलो गुन लगाएका छन् । गुरुले १० वटा नेपाली फिल्म बनाउनु भनेर दिएको गुरु दक्षिणा स्वीकार गर्दै मुम्बईबाट नेपाल आएका उनले जीवनको उर्जाशिल समय नेपाली फिल्मकै लागि समर्पित गरे ।
कुनै समय उनले जुन फिल्म छोयो त्यो हिट हुन्थे । तर, ‘दर्पण छायाँ’ पछि उनले निर्देशन गरेका फिल्मले व्यवसायिक सफलता हासिल गर्न सकेनन् । यसको दोष उनी आफूसँगै फिल्म रिलिज गर्ने नियमलाई दिन्छन् । उचित समयमा रिलिज हुन नपाउँदा कथावस्तु पुरानो भएर कति फिल्म नचलेको बताउँदै उनले आफ्नो कमी-कमजोरीका कारण पनि फिल्म नचलेको स्वीकार गर्छन् ।
उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘समयको गतिसँग म गतिशिल हुन नसकेको पनि हो । ‘दर्पण छायाँ’ पछि प्रविधि परिवर्तन हुन थाल्यो । डिजिटलको युग सुरु भइसकेको थियो । हामीले सेलो लाइटमा सिकौं र डिजिटल प्रविधि आउँदा ‘अब यस्तो पो गर्नु पर्छ’ भनेर ज्यादा सुनौं । अध्ययनको पनि कमी भयो । अहिलेका निर्देशकहरुले डिजिटलमै सिके र डिजिटलमै काम गरिरहेका छन् ।’
तुलसी घिमिरेले वर्षौं अगाडि गौतमबुद्धको विषयमा फिल्म बनाउने तयारी गरेका थिए । तर, आर्थिक कारणले फिल्म बन्न सकेन । उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । लामो समय अध्ययन गरेर स्क्रिप्ट लेखेको र योभन्दा राम्रो स्क्रिप्ट अहिलेसम्म नबनेको उनको दाबी छ । उनी यो फिल्मले अस्कार जित्नेमा समेत विश्वस्त छन् । ढिलो चाँडै फिल्म बनाउने उनको भनाई छ ।

