सुरज पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’ मा अभिनेत्री शिल्पा मास्केको प्रवेश भएको छ । आइतबार निर्माण टिमले उनलाई फिल्मका लागि मुख्य भूमिकामा अनुबन्ध गरेको हो । फिल्ममा उनी अभिनेता कोशिश क्षेत्रीको अपोजिटमा देखिनेछिन् । शिल्पाले फरक कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको र आफ्नो चरित्रलाई न्याय दिन कोसिस गर्ने बताएकी छन् ।
फिल्मको मुख्य भूमिकाको लागि अझै एक अभिनेता र अभिनेत्रीको खोजी भैरहेको निर्माता तथा लेखक दीपेन्द्र कुमार खनालले जानकारी दिए । केही दिनमा कलाकारको छनोट कार्य सकेर वर्कसप गरिने उनको भनाई छ । अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ । फागुन तेस्रो साताबाट छायांकनमा निस्कने फिल्मलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिने बताइएको छ ।
डिएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्मको निर्मात्रीमा शर्मिला पाण्डे छिन् । फिल्मलाई निरज कँडेलले छायांकन गर्नेछन् । एक विवाहित पुरुषको अफेयरको कथामा निर्माण हुने फिल्ममा दीर्घ खड्काको सम्पादन रहनेछ भने गीतमा कोशिश क्षेत्री स्वयंले संगीत भर्नेछन् । फिल्म ‘लभ लभ लभ’ बाट नायकको रुपमा डेब्यू गरेका सुरजले ‘परस्त्री’ बाट निर्देशमा डेब्यू गर्न लागेका हुन् ।

