
अक्षय कुमार वर्षमा सबैभन्दा बढी फिल्ममा काम गर्ने अभिनेतामा पर्छन् । उनका हरेक वर्ष चारवटासम्म फिल्म रिलिज हुने गरेका छन् र अधिकांशले सफलता पनि पाएका छन् । यो वर्ष उनको ‘पृथ्वीराज’ र ‘बच्चन पान्डे’ जस्ता ठूला फिल्म रिलिजको तयारीमा छन् । यसबीच, उनले दक्षिण भारतको एक सुपरहिट फिल्मको हिन्दी रिमेकमा अभिनय गर्न लागेको खबर बाहिर आएको छ ।
साउथ सुपरस्टार सूर्या अभिनीत तमिल ब्लकबस्टर ‘सोरारई पोटरु’ को हिन्दी रिमेकमा काम गर्न अक्षयले स्वीकृति जनाएको भारतीय मिडियाले दाबी गरेका छन् । ऋतिक रोशनदेखि अजय देवगनसहित कयौं सुपरस्टारको नाम जोडिएको यो फिल्म घुम्दै फिर्दै अक्षय कुमारसम्म पुगेको हो । केही दिनमा निर्माण टिमले फिल्मको औपचारिक निर्माण घोषणा गर्न सक्ने बताइएको छ ।
यो फिल्म एयर डेक्कनका संस्थापक क्याप्टेन जीआर गोपीनाथ र सुधा कोन्गरा प्रसादको जीवनीमा आधारित छ । सुधा कोंगराद्वारा निर्देशित फिल्ममा सूर्याका अलावा अपर्णा बालामुराली, परेश रावल, कृष्णकुमार बालसुब्रमण्यम लगायतको अभिनय रहेको छ । कोरोना महामारीका कारण हलमा प्रदर्शन गर्न असम्भव भएपछि फिल्मलाई अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।

