कोरोना महामारीका कारण रिलिज अड्केर बसेको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ आउँदो फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । तर, कोरोना महामारीका कारण सरकारले अनिश्चितकालका लागि सिनेमा हल बन्द गरेकाले फेरि फिल्मको रिलिज सर्ने सम्भावना बढेको छ । हल खुलेको अवस्थामा भने निर्माण टिमले निर्धारित मितिमा फिल्म प्रदर्शन गर्ने बताएको छ ।
.jpg)
ओमिक्रोनको संक्रमण फैलिनुभन्दा अगाडि फागुन १३ गतेलाई फिल्म ‘प्रेमगीत ३’ ले पनि प्रदर्शन मिति घोषणा गरेको थियो । तर, निर्माण टिमले नेपाल र भारतमा एकसाथ रिलिज गर्ने भन्दै फिल्मको रिलिज स्थगन गर्यो । यसपछि ‘लप्पन छप्पन २’ ले सोलो रिलिज पाउने सम्भावना बढेको थियो । तर, अब यो फिल्मले बक्सअफिसमा बलिउडको ठूलो फिल्मसँग भिड्नु पर्ने भएको छ ।
निर्देशक सञ्जयलीला भन्सालीले आफ्नो नयाँ फिल्म ‘गंगूबाई काठियावाडी’ को प्रदर्शन मिति २५ फेब्रअरी (फागुन १३) लाई घोषणा गरेका छन् । फिल्ममा अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छिन् । फिल्ममा माफिया क्वीन गंगूबाई काठियावाडीको भूमिका निर्वाह गरेकी उनले ट्रेलरबाटै दर्शकको मन जितेकी छन् । फिल्मले बक्सअफिसमा आक्रामक कमाई गर्ने धेरैको विश्लेषण छ ।
फागुन १३ मा ‘गंगूबाई काठियावाडी’ प्रदर्शनमा आउने भएपछि ‘लप्पन छप्पन २’ को रिलिज पोस्टपोन्ड हुन सक्ने चर्चा सुरु भएको छ । स्रोतका अनुसार, फिल्मको पोष्ट प्रोडक्सनको काम पनि पूरा भइसकेको छैन । जसले गर्दा फिल्मको रिलिज रोकिने सम्भावना प्रवल छ । मुकुन्द भट्ट निर्देशित यस फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा लगायतको अभिनय छ ।

