Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म चलाउन क्यूएफएक्सको मापदण्ड के हो ?

फिल्मीखबर, काठमाडौं, 2022/01/27
केही वर्ष अगाडिसम्म नेपाली फिल्म सिंगल थिएटरको मधुरो पर्दा र काठको ब्रेन्चमा बसेर हेर्नुको विकल्प थिएन । तिनै हलमा नेपाली फिल्मले एउटा कालखण्ड वितायो । त्यो समयलाई धेरैले ‘सुनौलो युग’ पनि भन्ने गरेका छन् । रिलबाट फिल्म खिचिने युगमा प्रायः फिल्मले हलहरुमा ५१औं र सय दिन मनाएका छन् । तर, अहिले फिल्म खिच्ने र हलमा हेर्ने दुवै प्रविधि बदलिएको छ ।
 
नेपालमा पछिल्लो समय सिंगल थिएटरहरु विस्थापित नै भएका छन् । काठमाडौंमा मात्र नभइ देशका विभिन्न शहरमा सुविधा सम्पन्न मल्टीप्लेक्स हलहरु सञ्चालनमा आएका छन् । सिंगल थिएटरभन्दा टिकट मुल्य बढी भएपनि मल्टीप्लेक्समा फिल्म हेर्दा दर्शकले पाउने आनन्द बेग्लै छ । उम्दा साउन्ड, स्क्रिन, सिट लगायतका कुराले मल्टीप्लेक्सतर्फ दर्शकको आकर्षण बढ्दो छ ।
 
नेपालमा मल्टीप्लेक्सको सुरुवात गर्ने श्रेय क्यूफएक्सलाई जान्छ । भाष्कर ढुंगाना र नकिम उद्दिमको टिमले इतिहास बोकेको जय नेपाल सिनेमा हललाई रुपान्तरण गरेर मल्टीप्लेक्समा ढालेको थियो । अहिले क्यूएफएक्सले नेपालकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेनको रुपमा आफूलाई उभ्याएको छ । क्यूएफएक्सले काठमाडौंसहित १० ठाउँमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।
 
Nakim Uddin qfx
 
मल्टीप्लेक्सहरुमध्ये क्यूएफएक्सबाट नेपाली निर्माताले बढी शेयर हात पार्ने गरेका छन् । जसले गर्दा निर्माताहरु क्यूएफएक्समा फिल्म चलाउन रोइकराई नै गर्ने गर्दछन् । विदेशी फिल्मलाई ठूलो शो दिएर नेपाली फिल्मलाई एक शो दिन पनि क्यूएफएक्सले नमान्ने गरेको गुनासो नेपाली निर्माताहरुले गर्दै आएका छन् । कति नेपाली फिल्मले त क्यूएफएक्समा शो समेत पाउँदैनन् । 
 
आखिर फिल्म चलाउन क्यूएफएक्सले कस्तो मापदण्ड बनाएको छ ? क्यूएफएक्सका सञ्चालक नकिम उद्दिमले कुन फिल्म चलाउने र कुन नचलाउने भन्ने निर्णय गर्न एउटा कमिटी बनाएको बताएका छन् । मल्टीप्लेक्समा फिल्म हेरिरहेका दर्शकहरुलाई जोगाइराख्न फिल्म छनोट कमिटी बनाएको र त्यो कमिटीले फिल्मको कास्टदेखि स्टोरीसम्म हेरेर निर्णय गर्ने उनको भनाई छ ।
 
एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामीले जस्तो पनि फिल्म देखाइदियौं भने दर्शक भड्किन्छन् । दर्शकलाई बचाइराख्न हामीले फिल्म छनोट कमिटी बनाएका हौं । वर्षभरी बन्ने सबै फिल्म प्रदर्शन गर्ने हो भने ती दर्शकहरु पनि हराउँछन् । कोरोना महामारीअघि हामीले वर्षमा ३५ वटासम्म नेपाली फिल्म प्रदर्शन गर्थ्यौं । त्यसमध्ये २/३ वटा फिल्म हिट हुन्थे भने ८/१० वटाले लगानी उठाउँथे ।’
Most Visited News (monthly)