.jpg)
अभिनेता तथा निर्माता भुवन केसी फिल्मको घोषणा गर्दै थन्काउने मामलामा सबैभन्दा अगाडि मानिन्छन् । उनले फिल्म ‘क्याप्टेन’ रिलिजपछि फिल्म ‘एन्टी हिरो’ को घोषणा गरेका थिए । यसपछि अरु दुई फिल्म ‘पारस र माइतीघर २’ को निर्माण घोषणा गरे । तर, अहिलेसम्म कुनै पनि फिल्मको छायांकन सुरु हुन सकेको छैन । अब यी तीन फिल्म बन्छन् कि बन्दैनन् भन्नेमै अन्योल छ ।
यसैक्रममा, भुवन केसीले फिल्म ‘कृ’ को सिक्वेल बनाउने तयारी गरेको चर्चा चलेको छ । यो फिल्म चलचित्र विकास बोर्डमा भने निर्माता सुवास गिरीको नाममा दर्ता छ । फिल्ममा अभिनेता अनमोल केसी अनुबन्ध भएपछि भुवन निर्माताको रुपमा जोडिएका थिए । केही समयअघि निर्माता सुवास गिरीले पनि ‘कृ’ को सिक्वेल बनाउने विषयमा छलफल भइरहेको जानकारी दिएका थिए ।
बुधवार भुवनले ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेल, द्वन्द्व निर्देशक तथा भोजपुरी फिल्मका निर्देशक चन्द्र पन्त र छायाँकार पुरुषोत्तम प्रधानसँग भेट गरेको तस्विर बाहिर आएपछि फिल्मको सिक्वेल बन्न लागेको कुरामा थप बल मिलेको छ । तर, निर्माता भुवन केसीले आफूहरुबीच कफी भेटघाट मात्र भएको र ‘कृ’ को सिक्वेल बनाउने विषयमा अहिलेसम्म आफूले केही नसोचेको बताए ।
प्राप्त जानकारी अनुसार, भुवन केसी र चन्द्र पन्तबीच भने चाँडै नयाँ फिल्ममा टिमअपको तयारी भइरहेको छ । केही समयअघि फिल्मीखबरसँगको कुराकानीमा चन्द्रले अनमोललाई लिएर फिल्म बनाउने विषयमा भुवन केसीसँग छलफल भइरहेको बताएका थिए । चन्द्र पछिल्लो समय भोजपुरी फिल्मको निर्देशनमा जमेका छन् । अब उनी नेपाली फिल्मको निर्देशन गर्ने तयारीमा छन् ।

