‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को पाँचौं संस्करण आउँदो चैतमा हुने भएको छ । ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारासहित चैत १० देखि १४ गतेसम्म काठमाडौंमा महोत्सव हुने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ । निफको चौंथो संस्करण कोरोनाले गर्दा भर्चुअल रुपमा भएको थियो ।
यसपटक महोत्सवमा ५५ देशबाट चार सय बढी फिल्म सहभागिताका लागि आएको भएपनि ३८ देशका ८९ फिल्म छनोट गरिएको आयोजक संस्थाले विज्ञप्तिमार्फत् जनाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र, सर्ट फिल्म र राष्ट्रिय नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्म विधामा फिल्मको आवेदन माग गरिएको थियो ।
.jpg)
यो वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार रुपैयाँ नगद राशीको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् । चौंथो संस्करणसम्म नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजक संस्थाको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्ममध्ये एउटालाई ‘आईएफएफएस डन क्विजोट अवार्ड’, उत्कृष्ट वृत्तचित्रलाई एक हजार डलरको माउण्ट एभरेष्ट अवार्ड, उत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, उत्कृष्ट लघु फिल्मलाई ५ सय राशीको बागमती अवार्ड, नेपाली उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्म र वृत्तचित्रलाई ५० हजार प्रदान गरिनेछ ।
सर्ट फिल्महरुमध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्मतर्फ सर्वोत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । निफले हरेक संस्करणमा विदेशी फिल्ममेकरको अनुभवलाई प्रत्यक्ष रुपमा समेट्दै आएको छ । यसपटक पनि एक चर्चित विदेशी फिल्ममेकरले मास्टर क्लास दिने बताइएको छ ।

