अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक साउथ (मलयालम) फिल्म ‘थिरिमाली’ मा अभिनय गर्न लागेको खबर सार्वजनिक हुँदा धेरैमा उनको भूमिकालाई लिएर कौतुहलता जागेको थियो । उनले साउथ फिल्ममा नेपाली अभिनेत्रीका लागि बाटो खोल्ने अपेक्षा धेरैको थियो । तर, केही दिनअघि सार्वजनिक भएको टिजरले फिल्ममा उनी आइटम गर्लको रुपमा प्रस्तुत भएको रहस्य खोल्यो ।
शनिवार ‘थिरिमाली’ को ‘रंग विरंगी रात फिरंगी’ बोलको गीत सार्वजनिक भयो । भारतकी चर्चित गायिका सुनिधि चौहानको स्वरमा रहेको गीतको भिडियोमा स्वस्तिमाले बोल्ड अवतारमा आकर्षक नृत्य गरेकी छन् । भिडियोमा उनलाई कोठी (वेश्यालय) मा नाचिरहेको देखाइएको छ । उनी नाचिरहँदा फिल्मका तीन मुख्य पुरुष पात्रहरु युवतीको मोलमोलाई गरिरहेको देख्न सकिन्छ ।
.jpg)
एकातिर नेपाललाई वेश्यालयको रुपमा प्रस्तुत गरेको भन्दै गीतको विरोध भइरहँदा अर्कोतिर स्वस्तिमाको नृत्यको प्रशंसा भइरहेको छ । अहिले नेपालको यूट्युब ट्रेन्डिङको दोस्रो स्थानमा रहेको गीतलाई १२ लाख बढीले हेरिसकेका छन् । भारतको साइना म्यूजिक यूट्युबबाट सार्वजनिक भएको गीतलाई २ हजार ६ सय बढी कमेन्ट मिलेको छ । गीतमा अधिकांश कमेन्ट नेपालीले गरेका छन् ।
प्रायःले कमेन्ट बक्समा स्वस्तिमाको इनर्जी (उर्जा) को प्रशंसामा शब्द खर्चिएका छन् । कसैले उनको नृत्यलाई ‘आगो’ को संज्ञा दिएका छन् भने कसैले नेपाल र नेपाली फिल्मकै शिर स्वस्तिमाले उचो बनाएकोमा गर्व महशुस गरेका छन् । गीत हेरेपछि धेरैले अब फिल्मको प्रतिक्षा रहेको बताएका छन् । स्वस्तिमाको नृत्यको प्रशंसा गर्न भारतीय दर्शकहरुले पनि कञ्जुसाइँ गरेका छैनन् ।
गीतमा आफ्नो नृत्यलाई दर्शकहरुले रुचाएपछि स्वस्तिमाले सामाजिक सञ्जालमार्फत् धन्यवाद व्यक्त गरेकी छन् । उनले सोमवार इन्स्टाग्राममा लेखेकी छन्, ‘के तपाईंहरुले गीत हेर्नुभयो ? हेर्नुभएको छैन भने अवश्य हेर्नुहोला । मैले राम्रो काम गर्नका लागि आफ्नोतर्फबाट पूरा कोशिश गरेको छु । तपाईंहरुले निस्वार्थ प्रेमबाट मलाई अनुग्रह गर्नुभएकोमा धन्यवाद । सबैलाई धेरै माया ।’
राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ लाई गत वर्ष नेपालको पोखरा, काठमाडौं, लुक्लामा खिचिएको थियो । हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने फिल्ममा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङसँगै भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको अभिनय छ ।

