नेपाली फिल्मले वर्षौंदेखि द्वन्द्वकालको कथा बेचिरहेको छ । द्वन्द्वकालको समयमा नेपालीले भोग्नुपरेको कथालाई फिल्ममा प्रस्तुत गरिरहँदा विश्वले नेपाललाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । आफ्नै समाजको कथालाई पस्कनु राम्रो कुरा हो तर यसले पार्ने प्रभावबारे नेपाली फिल्मकर्मीहरु सचेत छैनन् । द्वन्द्वको कथा देखाउने नाममा विश्वमाझ नेपालकै चित्र र चरित्र बदलिएको छ ।
नेपाली फिल्मले नेपाललाई नै सकारात्मक रुपमा प्रस्तुत गर्न नसकेको अवस्थामा नेपालमा छायांकन हुने विदेशी फिल्मबाट राम्रो कुराको अपेक्षा गर्नु बेकार हुन्छ । नेपालमा आजसम्म खिचिएका विदेशी (प्रायः बलिउड) फिल्मले दुई-चारवटा हिमालका दृश्य देखाएर नेपाललाई आतंककारी लुक्ने संरक्षण स्थलको रुपमा प्रस्तुत गरेका छन् । यसले विश्वमा जाने सन्देश पक्कै राम्रो हुँदैन ।
.jpg)
नेपालमा विदेशी फिल्मको छायांकन हुनु सकारात्मक कुरा हो । त्यसले नेपाललाई विश्वमा प्रवर्द्धन गर्छ । तर, कथावस्तुको जाँच नगरी विदेशी फिल्मलाई छायांकन गर्न दिँदा त्यसले नेपाललाई क्षणिक लाभ भएपनि दीर्घकालिन रुपमा घातक हुन्छ । विदेशी फिल्मले नेपाललाई कुन हिसाबले प्रस्तुत गर्दैछ भन्ने कुरा महत्त्वपूर्ण हो । यसका लागि राज्यले कथावस्तुमा गम्भीर जाँच गर्नुपर्छ ।
तर, विदेशी फिल्मलाई नेपालमा छायांकन अनुमति दिने हतारोमा राज्यले स्क्रिप्टको जाँचबुझ गर्न नै आवश्यक ठानेको छैन । जसले गर्दा ‘बेबी’, ‘इन्डियाज् मोस्ट वान्डेट’ जस्ता भारतीय फिल्मले नेपाललाई आतंककारी लुक्ने सुरक्षित स्थलको रुपमा प्रस्तुत गरे । गत वर्ष नेपालका विभिन्न स्थानहरुमा खिचिएको साउथ इन्डियन फिल्म ‘थिरिमाली’ ले पनि नेपाललाई गलत रुपमा चित्रण गरेको छ ।
शनिवार सार्वजनिक भएको फिल्मको ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छन् । गीतको भिडियो काठमाडौंको दरवार स्क्वायर क्षेत्रमा भएको बुझ्न सकिन्छ । गीत खिचिएको भवनमा जताततै बुद्ध र मल्लकालीन समयदेखिका मूर्तीहरु देखिएका छन् । अर्थात्, त्यो भवनलाई धार्मिक आस्थाको रुपमा पनि जोड्न खोजिएको छ ।

तर, स्वस्तिमा खड्काको नृत्यले जति रोमान्चकता पैदा गर्छ, गीतको भिडियोमा देखिने दृश्यहरुले उत्तिकै लज्जाबोध पनि गराउँछ । स्वस्तिमालाई कोठीमा नृत्य गरेको देखाइएको छ । उनी नाचिरहँदा फिल्मका तीन मुख्य पुरुष पात्रहरु त्यो भवनको काप्चाकाप्चा चाहार्छन् । देह व्यापारमा लागेका नेपाली युवतीहरुले उनीहरुलाई तानातान गरेको दृश्यहरु गीतको भिडियोमा पर्याप्य देखिन्छ ।
‘थिरिमाली’ को गीतमा नेपाललाई कोठीको रुपमा प्रस्तुत गर्नुले राज्यलाई नै चुनौती दिएको छ । किनकि, गीतमा देखाइएको दृश्य जस्तो नेपालमा देह व्यापार गर्न पाइँदैन । तर, गीतमार्फत् नेपाल देह व्यापारको अड्डा हो भन्ने हिसाबले जसरी प्रस्तुत गरिएको छ, त्यसबाट के बुझ्न सकिन्छ भने राज्यले फिल्मको कथावस्तुमा गम्भीर जाँच नगरी नेपालमा छायांकनका लागि अनुमति दिएको हो ।
गीतमा देखाइएको दृश्यले स्वस्तिमा खड्कामाथि पनि प्रश्न उठाउँछ । उनले फिल्मको कथावस्तु नसुनी गीतमा नाच्न तयार भएको स्पष्ट देखिन्छ । फिल्मका मुख्य पात्रहरु युवतीको मोलमोलाई गरिरहँदा स्वस्तिमा बेमतलब नाचेको दृश्यले आँखा विझाउँछ । उनी जस्तो बौद्धिक अभिनेत्रीले फिल्मको कथासार नबुझी नेपाललाई गलत रुपमा चित्रण गर्ने गीतमा ठुम्का लगाउनु दुःखद कुरा हो ।
.jpg)
गीतको अन्तिम दृश्यमा फिल्मका दुई पात्रले एउटा एल्बममा भएको युवतीहरुको फोटो एक व्यक्तिलाई देखाएर सोधपुछ गर्छन् । त्यो एल्बममा नेपाली अभिनेत्रीहरु जसिता गुरुङ, अदिती बुढाथोकी, अश्लेषा ठकुरीसँगै विभिन्न मोडलहरुको तस्विरहरु राखिएका छन् । उनीहरुले यौन अभिलासा पूरा गर्न तस्विर देखाएर युवतीहरुको मोलमोलाइ गरेको गीतको भिडियोबाट स्पष्ट बुझ्न सकिन्छ ।
नेपाली अभिनेत्री र मोडलहरुको तस्विर बिना अनुमति गलत काममा प्रयोग भएको भन्दै आलोचना हुन थालेपछि निर्माण टिमले एल्बम देखाएको पार्ट भने गीतको भिडियोबाट हटाएको छ । तर, गीतमा जसरी नेपाललाई कोठीको रुपमा प्रस्तुत गरिएको छ त्यसले दिने सन्देश पक्कै राम्रो हुने छैन । अब फिल्ममा नेपाललाई कुन हिसाबले देखाइएको छ, त्यसले पनि विशेष अर्थ राख्नेछ ।

