.jpg)
अभिनेत्री अदिती बुढाथोकीको बसाई नेपालभन्दा ज्यादा भारतको मुम्बईमा हुने गर्छ । फिल्म ‘कृ’ बाट अभिनयमा डेब्यू गर्नुभन्दा अगावैदेखि उनी मुम्बईमा गरेर मोडलिङ गर्दै आएकी थिइन् । उनको उद्देश्य बलिउड फिल्ममा प्रवेश गर्नु भए पनि म्यूजिक भिडियोमै चित्त बुझाइरहेकी छन् । यद्यपि, उनले भारतका चर्चित गायकहरुको स्वरमा रहेको गीतमा अभिनय गरिसकेकी छन् ।
‘कृ’ पछि करीब ३ वर्ष कुनै नेपाली फिल्ममा अभिनय नगरेकी उनी अब होम प्रोडक्सनको फिल्म ‘बाबरी’ बाट कमब्याक गर्दैछिन् । तिहारपछि सिक्किममा फिल्मको सुटिङ सकाएर त्यतैबाट मुम्बई गएकी उनी डबिङका लागि काठमाडौं फर्किने तयारीमा छिन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अदितीको अपोजिटमा धिरज मगर र धिरज टोटलानीले अभिनय गरेका छन् ।
फिल्मको छायांकन सकेर मुम्बई पुग्नसाथ कोरोनाको चपेटामा परेकी उनी संक्रमणबाट मुक्त भएपछि ‘रिफ्रेस’ हुन गोवा पुगेकी छन् । उनले इन्टाग्राममा गोवाको समुन्द्री किनारमा विकिनी अवतारमा खिचेका तस्विरहरु पोस्ट गरेका छन् । आफ्ना ‘हट एन्ड बोल्ड’ तस्विरले चर्चामा आउने गरेकी अदिती समुन्द्री किनारमा पुगेपछि प्रायः विकिनी अवतारमा प्रस्तुत हुन रुचाउने गर्छिन् ।

अदितीको जीवनशैली हेर्दा बलिउडका कुनै ठूला स्टारको भन्दा कम देखिन्न । उनी बेला बखतमा घुमफिरका लागि माल्दिभ्स पनि जाने गरेकी छन् । बलिउडका नाम चलेका कलाकारहरुले परिवार र साथीभाईसँग छुट्टी मनाउन माल्दिभ्स रोज्ने गर्दछन् । मुम्बईमा अपार्टमेन्ट भाडामा लिएर आमासँग बस्दै आएकी अदितीको जीवनशैलीले नेपाली कलाकारहरुलाई समेत लोभ्याउने गरेको छ ।

