
साउथ सुपरस्टार सूर्या अभिनीत फिल्म ‘जय भीम’ ले यतिबेला वाहवाही बटुलिरहेको छ । फिल्मको कथावस्तुदेखि कलाकारको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । तमिलनाडुमा सन् १९९३ मा घटेको सत्य घटनामाथि फिल्म केन्द्रित छ । तमिलनाडुको मुदन्नी गाउँमा बस्ने इरुलर आदिवासीको एक गरिब परिवारले भोगेको दुखान्त र पीडादायक कथालाई फिल्ममा उतारिएको छ ।
अमेजन प्राइममा रिलिज भएको यो फिल्मले दुईवटा रेकर्ड बनाएको छ । ‘जय भीम’ लाई अस्कारको अफिसियल यूट्यूब च्यानलमा देखाइएको छ । पहिलो पटक तमिल फिल्मलाई यो मौका मिलेको हो । यसअघि ‘गोल्डन ग्लोब्स’ को ‘बेस्ट नन इङ्ग्लिस क्याटेगरी’ मा पनि फिल्म परेको थियो । त्यस्तै, फिल्मले आइएमबिडीमा सबैभन्दा बढी रेटिङ (१० मा ९.३) पाउँदै अर्को रेकर्ड बनाएको छ ।
फिल्ममा सूर्याले वकिल चन्द्रू र लिजोमोल जोसले सेनगानीको चरित्रमा जीवन्त अभिनय गरेका छन् । फिल्ममा मणिकन्दन, राजीशा विजयन, प्रकाश राज और राव रमेश जस्ता कलाकारहरुको पनि अभिनय छ । निर्देशक टी जे ग्नानवेलले कोर्ट रूम ड्रामालाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन् । राज्य र यसका संरचनाले सीमान्तकृत वर्गमाथि गर्ने व्यवहारलाई फिल्ममा देखाइएको छ ।

