निर्देशक तुलसी घिमिरे र निर्माता उद्दव पौडेल नेपाली फिल्म क्षेत्रका लागि ओझिलो नाम हो । उनीहरुको ठूलो योगदान, मिहिनेत र त्याग छ नेपाली फिल्मले काँचुली फेर्नमा । ‘कुसुमे रुमाल’ जस्तो माइलस्टोन फिल्ममा उनीहरुबीच सहकार्य भएको थियो । तर, यसपछि दुवै दुई ध्रुव भए । कहिल्यै सहकार्यको गाँठो कसिएन । उनीहरुबीच अहिले पनि खासै राम्रो सम्बन्ध नरहेको बताइन्छ ।
‘कुसुमे रुमाल’ को शेयर बाँडफाँडको विषयमा चर्किएको विवादले तुलसी घिमिरे र उद्दव पौडेलबीच सम्बन्ध चिसिएको हो । यो फिल्ममा निर्माताको रुपमा तुलसीका भाई श्रवण घिमिरे जोडिएका थिए । फिल्मलाई भारतमा रिलिज गर्ने अधिकार श्रवणसँग थियो । तर, फिल्म नेपालमा हिट भएपछि उद्दवले श्रवणलाई शेयर दिन इन्कार गरे । त्यसबेला यो विषय अदालतसम्म पुगेको थियो ।

‘कुसुमे रुमाल’ लाई विना अनुमति गडवाली भाषामा डब गरेर बेचेकाका कारण उद्दव पौडेलले श्रवण घिमिरेलाई फिल्मको शेयर बाँड्न नमानेको बताइन्छ । तर, हालै एक अन्तर्वार्तामा निर्देशक घिमिरेले फिल्मलाई गडवाली भाषामा डब गरिएको भए पनि त्यसबाट आफूहरुलाई ठूलो आर्थिक लाभ नभएको बताएका छन् । उनी अझै पनि यो विषयमा उद्दव पौडेललाई नै दोषी मान्छन् ।
उनले भनेका छन्, ‘फिल्म गडवाली भाषामा डब भएको सत्य हो । तर, त्यता पट्टीको राइट्स उद्दव पौडेलको थिएन । यो विषयमा उहाँले केही भन्न पाउनुहुन्न । फेरि त्यो हामीले धेरै पैसा लिएर बेचेका पनि थिएनौं । गडवाली फिल्म इन्डस्ट्रीलाई सहयोग हुन्छ भनेर त्यहाँको फिल्मकर्मीले ‘कुसुमे रुमाल’ लाई डब गरेर चलाउनुभएको थियो । त्यसबाट हामीलाई धेरै आर्थिक लाभ भएको थिएन ।’
सानो पैसाका कारण राम्रो टिम सदाका लागि फुटेकोमा उनी दुःख व्यक्त गर्छन् । ‘शेयरको विषयमा कुरा नमिलेपछि मुद्धा पनि परेको थियो । तर, मैले महशुस गरेको कुरा के हो भने त्यति पैसा दुवैले बाँडेको भए दुवै खुसी हुन्थे । सानो पैसाका कारण त्यति राम्रो टिम फेरि कहिल्यै एक हुन सकेन । तर, यो विषयका कारण उद्दवजीसँग पानी बाराबार नै चाहिँ भएको थिएन,’ उनले भने ।

