(1).jpg)
कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको फिल्म हो ‘म यस्तो गीत गाउँछु २’ । २०७६ सालको फागुन ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेर निर्माण टिमले प्रचार-प्रसारमा समेत ठूलो खर्च गरिसकेको थियो । तर, रिलिजको संघारमा कोरोना संक्रमण भयावह रुपमा फैलिएपछि दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकियो ।
हलहरु खुलेपछि भने माघ १९ गतेलाई फिल्मको प्रदर्शन मिति तोकियो । तर, यसपटक पनि फिल्म कोरोनाको चपेटामा परेको छ । संक्रमण रोकथामका लागि सरकारले माघ १५ गतेसम्म हलहरु बन्द गर्ने निर्णय गरेपछि ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन फेरि स्थगन भएको छ । सुदर्शन थापा प्रोडक्सनले बुधवार एक विज्ञप्ति जारी गर्दै फिल्मको रिलिज रोकिएको जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘आम मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई फिल्म प्रदर्शन नगर्ने निर्णय गरेका छौं । कोरोना महामारीको तेस्रो लहर सहज भए पश्चात यस फिल्मका वितरक तथा सम्पूर्ण संघ संस्थाहरुलाई समन्वय गरी नयाँ प्रदर्शन मिति तय गर्नेछौं ।’

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेका छन् । फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायको पनि अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।

